अल्जाइमर्स के हो ? कसरी हुन्छ अल्जाइमर्स ?

कात्तिक २६, काठमाण्डौँ –कुनै कारणवश मस्तिष्कको सम्झिने क्षमताका साथसाथै अन्य कुनै कार्यक्षमतामा विस्तारै कमजोरी आई दैनिक क्रियाकलापमा असर पर्नुलाई ‘विस्मृति’ भनिन्छ । यसको विविध कारणमध्ये प्रमुख कारण ‘अल्जाइमर्स’ हो ।

अल्जाइमर हुने कारण

अल्जाइमर्स प्रायः ज्येष्ठ नागरिकमा लाग्ने रोग भए तापनि यसको यकिन कारण पत्ता लगाउन सकिएको छैन । मस्तिष्कको स्नायु तन्त्रसँग सम्बन्धित कोषिकामा बढ्दो उमेरसँगै आउने खराबी (न्युरो डिजेनेरेसन) ले यो रोग लाग्ने मानिन्छ ।

विभिन्न अध्ययन–अनुसन्धानले देखाए अनुसार बुढ्यौली, आनुवांशिकता, अधिक मोटोपना, मधुमेह, उच्च रक्तचाप, ‘मेटाबोलिक सिन्ड्रोम’, रगतमा अधिक चिल्लोपना, डाउन सिन्ड्रोम, मस्तिष्कसम्बन्धी चोटपटक जस्ता विभिन्न स्वास्थ्य समस्याहरूले कुनै पनि व्यक्तिमा अल्जाइमर्स रोग लाग्ने जोखिमलाई बढाइरहेका हुन्छन् ।

लक्षण

– स्मरण शक्तिमा क्रमिक रूपमा ह्रास हुँदै जानु ।

– पूर्वजानकारी भएका व्यक्ति र नातागोता एवं ठाउँ चिन्न समस्या हुनु ।

– साविकका कामहरू गर्न आवश्यकताभन्दा धेरै समय लिनु ।

– व्यवहार र व्यक्तित्वमा क्रमिक रूपमा परिवर्तन हुँदै जानु ।

– कम कडा अवस्थाका समस्या क्रमिक रूपमा बढ्दै जानु ।

– परिवारभित्रैका सदस्यलाई पनि चिन्न समस्या हुनु ।

– घरको बाटो बिराउनु वा हराउनु ।

– एउटै कुरा तथा काम अनावश्यक रूपमा दोहो¥याइरहनु ।

– अनावश्यक शंका गरी नभएको कुरा देख्नु, सुन्नु अधिक डराउनु तथा आवेशमा आउनु ।

– सामाजिक रूपमा आपत्तिजनक काम, व्यवहार र भाषा प्रयोग गर्नु ।