भारतीय ‘रअ’ प्रमुखलाई भेटेको समाचारप्रति प्रचण्डद्वारा खेद प्रकट

कात्तिक ६, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय ‘रअ’ प्रमुखलाई भेटेको समाचारप्रति खेद प्रकट गरेका छन् ।

बिहीबार अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले विज्ञप्ति जारी गर्दै केही अनलाईन मिडियाले प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गोप्य रुपमा भेटेको भनी लेखेको समाचारप्रति खण्डन गरेका हुन्।

‘केही अनलाईनले प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबारमात्रै दिल्ली फर्कने शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।  यस्तो सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न प्रचण्डले अपिल गरेका छन्।