खाद्य कम्पनीले आजदेखि काठमाडौंमा खसी बोका बिक्री गर्ने

कात्तिक ३, काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री गर्ने भएको छ ।

कम्पनीले थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट आजदेखि दशैंका लागि खसी बोका बिक्री वितरणको काम शुरु हुने भएको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।

कम्पनीले यसअघि दशैंका लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा बिक्री गर्ने जनाएको थियो । तर कोरोना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यस वर्ष कम आपूर्ति गरिएको बताइएको छ ।

कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण सुरु गरेको थियो । उक्त मुल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेको थियो ।

कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने जनाएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ ।