५ सांसदद्वारा दसैँ भत्ता फिर्ता गर्ने घोषणा

कात्तिक ३, काठमाडौं  – कोरोना महामारीका बीचमा पनि दसैँ भत्ता लिएको भन्दै आलोचना भएपछि ५ जना सांसदले दसैँत्ता फिर्ता गरेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरू नारायणकाजी श्रेष्ठ, भीम रावल र गगन थापा र बालकृष्ण खाँडलेले दसैँ भत्ता फिर्ता गर्ने भएका छन् ।

संसद सचिवालयका अनुसार तिमल्सिना, थापा र रावलले आफू र आफ्नो स्वकीय सचिवको नाममा आएको दसैँ भत्ता फिर्ता गर्न निवेदन दिएका छन्। उनीहरुले भत्ता फिर्ताका लागि औपचारिक रुपमा निवेदन सचिवालयमा दर्ता भएको उनले बताए। उनीहरुबाट भत्ता रकम बराबरका चेक लिने तयारी संसद सचिवालयले गरेको छ।

यस्तै नारायणकाजी श्रेष्ठ र बालकृष्ण खाँडले पनि दसैँभत्ता फिर्ता गर्न निवेदन दिएको सार्वजनिक गरेका छन्। त्यस्तै सांसद जनार्दन शर्माले आफूले पाएका भत्ता सहिद परिवारको उपचारमा दिने घोषणाा गरेका छन्।

दसैँ भत्ता बापत सांसदहरूको खातामा एक महिनाको तलब बराबरको रकम सांसदहरूका खातामा पठाइएको थियो। महामारीका बेला पनि भत्ता लिएको भन्दै आलोचना भएपछि सांसदहरू फिर्ता गरेको घोषणा गर्न थालेका हुन्। सांसदहरूको एक महिनाको तलब ६५ हजार रुपैयाँ हुन्छ।  यसअघि पनि प्रत्येक वर्ष सांसदहरूले यस्तो भत्ता लिँदै आएका थिए।