डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

असोज २१, वीरगञ्ज – अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ ।

चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी वीरगञ्जकी ज्योति साहले डाक्टर केसीले सम्पूर्ण नेपालीको स्वास्थ्यका लागि आफ्नो स्वास्थ्य दाउमा राखेकाले सरकारलाई दबाव दिन प्रदर्शनमा सहभागी भएको बताइन् ।

‘म बाल अधिकारको पक्षमा लागेको मान्छे, आज डाक्टर गोविन्द केसी जस्तो मान्छेको त कुरा सरकारले सुनिरहेको छैन,’ उनले भनिन्, ‘हामी बालबालिकाको कुरा कसले सुन्ला र अधिकारका लागि लड्नुपर्छ भनेर पहिलो पाइला डाक्टर केसीको समर्थनमा चालेकी छु ।’

जसपाका युवा नेता ओम प्रकाश सर्राफले डाक्टर केसीको जायज माग पूरा गर्न सरकारलाई दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए ।