गौतमको मुद्दा बुधबार मात्रै सुनुवाइ हुने

असोज,१६ काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिटलाई बुधबार मात्रै सर्वोच्चमा सुनुवाइ हुने भएको छ ।

सुनुवाइका केही प्रक्रिया अझै बाँकी नै रहेकोले शुक्रबार पनि गौतमको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

यो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच जना न्यायाधीशहरुको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गरे पछि अहिले चौतर्फी विरोध भइरहेको छ । गौतमसँग सम्बन्धित रिटमा अब बुधबार मात्रै सर्वोच्चमा सुनुवाइ हुने भएको छ ।

गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चले यसअघि नै आदेश दिइसकेको छ ।