कांग्रेसले भन्यो : स्थलगत अध्ययन विना सीमा मिचिएको छैन भन्नु गलत हो

असोज,८ काठमाडौं- कर्णाली प्रदेशको हुम्लामा चीनले नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई नेपाली कांग्रेसले हतारको टिप्पणीको संज्ञा दिएको छ ।

हिमाली जिल्ला हुम्लाको हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबर नेपाली मिडियामा केही दिन पहिले बाहिरिएको थियो ।

तर सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भनेका थिए ।

प्रमुख विपक्षी दलले यसको घुमाउरो रुपमा विरोध गरेको हो ।

बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेकोमा पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन’ उनले भनेका छन् ।यसैबीच, हराएको भनिएको ११ नम्कर पिल्लर भेटिएको छ ।