‘गाउँ–गाउँमा कोरोना कहर, दलहरुलाई छैन डर’

असोज ८, बाँके – नेपालमा प्रत्येक दिन पुष्टि हुने तथ्यांकले भन्छ, समुदायस्तरमा कोरोना तीव्र गतिमा डुलिरहेको छ । कोरोना संक्रमणसँगै मृत्तकको संख्या दैनिक उकालोतिर जादैँछ । देश कोरोना संक्रमणका कारण प्रभावित हुने प्रदेश मध्ये ५ नम्बर प्रदेश समेत अग्रस्थानमा   छ ।

बाँके जिल्ला कारोना प्रभावित जिल्ला हो । बाँकेमा मात्रै कोरोनाका कारण जिल्लाभित्रका ११ र जिल्ला बाहिर ४ जनाको मृत्यु भइसकेको छ । नेपालको दोस्रो कोरोनाबाट मृत्यु हुने जिल्ला समेत बाँके हो । रोजगारीका लागि भारत गएका र कोरोनाका कारण घर फर्किएका नरैनापुर गाउँपालिकाका एक २५ वर्षीय युवकको कोरोनाका कारण क्वारेन्टिन मै मृत्यु भएको थियो । जिल्लाका आठ वटै स्थानीय तह अछुतो छैनन् । सबैभन्दा बढि नेपालगञ्ज उपमहानगरपालिकामा ८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा १÷१ जनाको मृत्यु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकार ६ महिनायता क्रियाशिल छन्। यस्तो महामारीको बेला स्थानीय सरकारलाई सघाउनु राजनीतिक दलको प्रमुख दायित्व हुनुपर्ने हो । तर व्यवहारत बाँकेमा भने यस्तो पाइदैन । विशेषगरी कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न वडामा राजनीतिक दलका पार्टी प्रवेश कार्यक्रम तीव्र रुपमा चलिरहेका छन् ।

ती कार्यक्रममा कोरोना कहर बिर्साउने गरी संघीय र प्रदेश सांसददेखि स्थानीय सरकारका प्रमुख, उपप्रमुखहरु पार्टीका कार्यक्रम, भेला र पार्टी प्रवेश कार्यक्रममा सहभागी भइरहेका छन् । खासगरी नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले कोरोनालाई खेलाँची ठानेको देखिन्छ । सरकारले विना सुरक्षा बाहिर हिड्डुल नगर्न सुझाएको छ । खासगरी कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस महामारीलाई भुलेर दैनिक जसो सयौं जना जम्मा गरेर राजनितिक कार्यक्रम गरिरहेका छन् । एकातिर जनता कोरोना कारण गाँस र बाँस खोसिएकोले चिन्तामा छन् भने यी दुई पार्टीहरु महामारीको बेला पार्टी प्रवेश गराउन हात धोएर लागेका छन् ।
उनीहरुको सभा, भेला र कार्यक्रम हेर्दा लाग्छ, उनीहरुले कार्यक्रम गरिरहेको ठाउँमा कोरोनाको प्रभाव नै छैन । अझै ती सभाका पहिलो लाइनमा बसिरहेका नेताहरु बीच न त सामाजिक दुरी कायम भएको देखिन्छ, नत सुरक्षा अपनाएको पाइन्छ । यस्ता प्रकारका कोरोना कहर बिर्साउने खालका राजनीतिक दलका भेलाले कोरोना संक्रमणको अवस्था झन् भयावह हुने अवस्था छ ।

दुवै पार्टीका नेता कार्यकर्ताहरु बडो फूर्तिका साथ आज यतिजना प्रवेश गरे भन्दै सामाजिक सञ्जालमा फेसबुकमा पोष्ट गरिरहेका हुन्छन् । सत्तारुढ नेकपा बाँकेमा सचिव अशोक कोइराला नेकपामा जनताको आकर्षण बढिरहेको भन्दै अभियानका रुपमा नभएर सुरक्षा सहित कार्यक्रम सञ्चालन भइरहेको बताउँछन् । उनका अनुसार पार्टीमा प्रवेश गर्नेहरुको संख्या धेरै भएकोले पार्टीको नियमित कार्यक्रम अनुसार नै भेला भइरहेका छन् । ती भेलाहरुमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाइएको उनले दाबी गरे । तर सचिव कोइरालाले दाबी गरेजस्तो नेकपाले विभिन्न पालिकामा गरेका कार्यक्रममा स्वास्थ्य मापदण्ड पुरा गरेको देखिदैन । यता नेपाल काँग्रेस बाँकेकी सभापति किरण कोइरालाले पनि आफ्नो पार्टीले कार्यक्रम गर्दा सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गरेको बताउँछिन् । तर काँग्रेसका कार्यक्रमहरु र नेता कार्यकर्ताका प्रचारप्रसार चुनाव भन्दा कम छैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले पनि राजनीतिक दलका त्यस्ता गतिविधि मिडिया र सामाजिक सञ्जालमा आइहरहेको भन्दै कोरोना महामारीको समयमा त्यस्तो कार्य ठिक नभएको बताए । उनका अनुसार सरकारले समेत त्यस्ता प्रकारका भेला आयोजना नगर्न भनेको समयमा राजनीतिक दलले विना साबधानी भेला गर्नु नराम्रो हो । बाँकेमा दैनिक जस्तो यस्ता कार्यक्रम भइरहेका छन् ।