भेटियो ११ नम्बर सीमा स्तभ

असोज ८,काठमाडौँ  – नेपाल–चीनबीचको ११ नम्बर सीमा स्तम्भ फेला परेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले ११ नम्बर पिल्लर फेला पारेको हो ।

नाम्खा गाउँपालिका–६ स्थित टाकुलेमा सीमास्तम्भ फेला परेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले बताए ।

‘चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको टोलीले बुधबार टाकुलेमा ११ नम्वर पिल्लर फेला पारेको छ,’ उनले भने, ‘विस्तृत विवरण भने प्रजिअ सदरमुकाम फर्केपछि थाहा होला ।’

सीमा प्रहरी चौकी हिल्साभन्दा करिब पाँच हजार दुई सय मिटर उचाईमा ११ नम्बर पिल्लर फेला परेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।