प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख बेरोजगारलाई रोजगारी दिने तयारी

भदौं १७, काठमाडौं  – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो ।

सरकारले बेरोजगार युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ ।
घरपरिवारमा कोही पनि सदस्य रोजगार नभएकालाई उक्त कार्यक्रममार्फत दुई लाख जनालाई रोजगारी दिन थालिएको राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले बताए ।

उनका अनुसार स्थानीय तहबाट छनोट गरिएकाहरुले मर्मतसम्भार आयोजना र सामुदायिक पूर्वाधारका २० आयोजनामा श्रम गर्नेछन् ।
मन्त्रालयका सहसचिव घिमिरेका अनुसार एक जनाले दैनिक ५१७ बराबरको श्रम गर्नेछन् ।

तीन महिनाभन्दा कम खाना लगाउन नपुग्नेलाई उक्त कार्यक्रममा समावेश गरेर सय दिनको रोजगारी दिइने उनले बताए। कार्यक्रमका लागि स्थानीय तहले तयारी गरिरहेका छन् । गत आर्थिक वर्षमा ८२ हजार ६३८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सय दिनको रोजगारी पाएका थिए । बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूतिमार्फत रोजगारीको हक कार्यान्वयन गर्ने उद्देश्यले सरकारले आव २०७५र७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो ।

रोजगारीका लागि बेरोजगारले स्थानीय तहको आफू बसेको वडामा निवेदन दिनुपर्नेछ र सोही निवेदनका आधारमा स्थानीय तहको कार्यपालिकाले विपन्न, आर्थिक अवस्था कमजोरलाई छनोट गर्ने र छनोटमा परेकालाई कार्यक्रममार्फत सय दिनको रोजगारी दिइने छ । गत असारसम्ममा ७५३ स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा तीन लाख ८३ हजार ५९५ जना बेरोजगार व्यक्ति सूचीकृत गरिएको छ ।