उपत्यका प्रवेश नाका साँगामा सवारी चाप कम गर्न प्रजिअबीच छलफल

साउन २१, काठमाण्डौँ – कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतको काभ्रेपलाञ्चोकको साँगामा मङ्गलबार भएको बैठकले साँगा नाकालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको काभ्रेपलाञ्चोक जिल्लाका प्रजिअ तिमिल्सिनाले बताए ।

“साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन गर्ने विषयमा छलफल ग¥यौँ”, उनले भने, “सवारी साधन जाँचका क्रममा हुने गरेको भीडका कारण साँगा क्षेत्रका नागरिकलाई जोखिमबाट कसरी मुक्त गर्ने भन्ने विषयमा गहन छलफल भएको छ ।” बैठकमा साँगामा भएको सुरक्षा जाँचको विषयमा जानकारी गराइएको थियो ।

विषेशगरी तराई जिल्लाबाट आएका सवारीसाधन उपत्यका प्रवेश नाका साँगामा कडाइ गर्दा स्थानीय बासिन्दा जोखिममा रहेको भन्दै त्यहाँका बासिन्दाले दुवै जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यसका लागि काभ्रेपलाञ्चोक जिल्लाको सीमा नाका बिपी राजमार्ग भएर सिन्धुलीबाट आउने सवारी साधनलाई काभ्रेपलाञ्चोकको मङ्गलटारमै रोकिने र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोकबाट आउने सवारी साधनलाई दोलालघाटमै रोकेर जाँचपास गरी आवश्यकताका आधारमा मात्रै प्रवेश गराउने विषयमा निर्णय भएको जनाइएको छ । बैठकमा बिनापास अन्तर जिल्ला आएका सवारी साधनलाई ती ठाउँमै रोकेर राख्ने कुरालाई अझ कडाइ गर्ने निर्णय भएको प्रजिअ तिमिल्सिनाले बताए ।

पास लिएर आएकाहरुले पनि तोकिएको सङ्ख्याभन्दा बढी ल्याउने गरेको पाइएका कारण त्यसलाई समेत कडाइ गर्ने उहाँले बताउनुभयो । सो क्रममा उपत्यका केन्द्रित भएर व्यवसाय गर्ने कर्मचारी, विद्यार्थीका लागि सहज बनाउने विषयमा दुवै जिल्लाबीच सहमति गरेर खुकुलो गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

सो क्रममा मास्कको प्रयोगबिना बाहिर निस्केको पाइएमा सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्नका लागि पहिलोपटक सचेतनासँगै मास्क नलगाई हिँड्नेलाई मास्क बाँड्ने काम गरिएको उनले बताए । उनि नेतृत्वको टोलीले साँगा र बनेपा चारदोबाटोमा सडकमा हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको थियो । रासस