‘मिथिलाको चाहना, घरघरमा साहना’ 

साउन ११, काठमाण्डौँ – मिथिलामा अहिले आफ्ना छोरीचेलीमा नेपालको वाम प्रजातान्त्रिक आन्दोलनकी शीर्ष नेतृ साहना प्रधानको बिम्व खोजिँदै छ । धनुषाको मिथिला नगरपालिकाले पछिल्ला तीन वर्षदेखि आफ्ना छोरीचेलीमा नेतृ साहनाको बिम्व खोज्दै ‘मिथिलाको चाहना, घरघरमा साहना’ कार्यक्रम नै सञ्चालन गर्दै आएको हो ।

झट्ट सुन्दा, पढ्दा ‘मिथिलाको चाहना, घरघरमा साहना’ नाराजस्तो लागे पनि मिथिलामा यो नारा मात्र छैन । उच्च शिक्षा, वाम प्रजान्त्रिक आन्दोलनप्रतिको निष्ठा र नेतृत्व, लैङ्गिक विभेदविरुद्ध निरन्तर सङ्घर्ष र गरिब तथा मिहिनेतका साथ जनताप्रतिको स्नेह साहनामा देखिने मुख्य पक्ष हुन् । यिनै पक्ष दर्बिलोरूपमा आफ्ना चेलीमा देखिन, खोजिन ‘मिथिलाको चाहना, घरघरमा साहना’ कार्यक्रम नै सञ्चालन गर्दै आइएको मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो बताउँछन् ।

प्रदेश नं २ को करिब मध्यभागमा पर्ने नगरपालिकाको ढल्केवर पूर्वपश्चिम राजमार्ग र मिथिला संस्कृतिको केन्द्र जनकपुरधाम जाने सडकको सङ्गम छ । जनकपुरधामसँग जोड्ने मुख, पूर्वपश्चिम राजमार्गमा प्रदेश भित्रको मध्यभागमा पर्ने मिथिला नगरपालिकाको यो कार्यक्रमले छरछिमेकका जिल्ला र स्थानीय तहमा राम्रो चर्चा बटुलेको छ ।

छोरी शिक्षालाई उत्प्रेरित गराउने उद्देश्यले तीन वर्षअघि आर्थिक वर्ष २०७४/७५ देखि नै मिथिला नगरपालिकाले ‘मिथिलाको चाहना, घरघरमा साहना’ भन्ने कार्यक्रम सञ्चालन गर्दै आएको हो । कार्यक्रमको प्रत्यक्ष नेतृत्व उपप्रमुख तारा बस्नेत लामाले गर्दै आएकि छन् । पढाइ स्नातक पूरा गरेका मिथिलाभित्रका छोरीलाई कदरपत्र दिएर सम्मान गर्दै नगद छ हजार दिइने यस कार्यक्रममा हालसम्म ७२ जना सम्मानित भइसकेका छन् । पढेकी छोरीसँगै बाबुआमालाई पनि नगरपालिकाले सम्मान गर्न थालेपछि छोरी पढाउनु पर्छ भन्ने कुराले बल पाउँदै गएको नगरपालिकाका उपप्रमुख तारा बस्नेत लामाको भनाइ छ ।

“हामीले छोरी शिक्षा जागरण बढाउने उद्देश्यले यो कार्यक्रम शुरु गरेका हौँ”, उनले भनिन्, “कार्यक्रमको प्रचारप्रसारले उमेर नपुग्दै गरिने विवाह ९२० वर्ष पूरा नभई० लाई निरुत्साहित गर्नसँगै छोरी शिक्षाप्रति राम्रो जागरण बढेको छ ।” नेपालको वाम प्रजातान्त्रिक आन्दोलनको एक सशक्त हस्ती, महिलामुक्ति आन्दोलनका अग्रणी योद्धा स्व साहना प्रधानको नाउँमा स्थापित र सञ्चालित यो कार्यक्रमको उद्देश्य लैङ्गिक विभेदविरुद्ध सशक्त महिला आन्दोलनको विकाससमेत रहेको उनी बताउँछिन् ।

पहिलोपटक आर्थिक वर्ष २०७४÷७५ मा ५४, दोस्रो वर्ष आव २०७५÷७६ मा पाँच र गत आर्थिक वर्ष २०७६÷७७ मा १३ गरी हालसम्म ७२ जना स्नातक गरेका अविवाहित छोरी र यसै सङ्ख्याका बाबुआमा सम्मानित भइसकेको नगरपालिकाले जनाएको छ । कार्यक्रमको उद्देश्यमा सामाजिक कुरितीविरुद्ध छोरीलाई सशक्त बनाउनु, बालविवाह, बहुविवाह र अनमेल विवाहलाई निरुत्साहित गर्दै नारी शिक्षालाई जोड दिँदै दक्ष जनशक्ति निर्माणमा योगदान पु¥याउनु उल्लेख छ । यसअघि नारी शिक्षा अत्यन्त कमजोर रहेको नगरभित्र अब स्नातक गर्ने छोरी बाक्लै भेटिन थालेका छन् । “हामीले सम्मानित गरेका ७२ मध्ये त कडा परिश्रम गर्ने कोइरी, कलवार र हलुवाई जाति समुदायका मात्रै आधा सङ्ख्या छन्”, उपप्रमुख लामाले भनिन्, “त्यसैगरी मगर, सुनुवार, तामाङसहितका जनजाति समुदायका १५ र बाँकी ब्राह्मण÷क्षेत्री÷सन्यासी जाति समुदायका छोरी छन् ।” कार्यक्रमको मुख्य उद्देश्य गरिब र दलित वर्गमा शिक्षाको प्रसार गर्नु भएको हुँदा अब त्यस्ता परिवारको पहिचान गरी छोरी शिक्षालाई प्रभावकारी बनाउन यसैभित्र थप कार्यक्रम बढाइने उनको भनाइ छ ।

नगरपालिकाले पढेकी छोरी र छोरी पढाउने बाबुआमा दुवैलाई सम्मानित गर्न थालेपछि अब आमरूपमा छोरीलाई उच्च शिक्षा पढाउनु पर्छ भन्ने सन्देश प्रवाहित भएको यस भेगका बुद्धिजीवी बताउँछन् । छिमेकको मिथिला नगरपालिकाले थालेको यस्तै अभियान अब महोत्तरीका भङ्गाहा, बर्दिवास र धनुषाकै चारनाथ गणेशमान र क्षिरेश्वर नगरपालिकाले तर्जुमा गर्दैछन् । नारी शिक्षा नबढाएसम्म विकास र समृद्धिको नाराले खास अर्थमा सार्थकता नपाउने हुँदा सबै स्थानीय तहले आफ्नो भूगोलभित्र छोरी शिक्षा प्रवद्र्धन हुने कार्यक्रम बनाउन आवश्यक रहेको बर्दिवास–१४ का बासिन्दा माध्यमिक विद्यालयका अवकाशप्राप्त प्रधानाध्यापक खड्गबहादुर सिंह बताउँछन् ।

मिथिला नगरपालिकाका बाबुआमा पनि आफ्नो स्थानीय तहले थालेको यो अभियानबाट उत्साहित छन् । छोरीले राम्रो शिक्षा पाए ज्वाइँ पनि योग्य पाइने, छोरी आत्मनिर्भर हुनसक्ने र भावी सन्तान पनि उच्चसंस्कारी हुने ध्येयले नै नगरपालिकाले यो कार्यक्रम बनाएको सम्मानित एक छोरीका अभिभावक मिथिला–५ का सुखसागर महतो बताउँछन् । उच्च शिक्षा लिएकी छोरीको नाताले आपूm पनि सम्मानित हुन पाउँदा यहाँका बाबुआमा दङ्ग छन् ।

मौलिक र फरक विशेषताको कार्यक्रम बनाउँदै र सञ्चालन गर्दै आएको मिथिला नगरपालिकाले यसपालि चालू आर्थिक वर्ष २०७७÷७८ देखि लागू हुने गरी ‘गरिबको घरकटेरीमा मदन भण्डारी’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालको वाम आन्दोलनलाई थप प्रजातान्त्रिक गर्दै सशक्त विचार प्रतिपादन गरेका जननेता मदन भण्डारीका नाउँमा सञ्चालन गर्ने निर्णय गरिएको सो कार्यक्रममा अत्यन्त गरिब परिवारको पहिचान गरी उनीहरुको आर्थिक गतिविधि बढाउने उद्देश्य राखिएको उपप्रमुख लामा बताउँछिन् ।

नगरपालिकाले नगरसभाबाटै पारित गरेका यी कार्यक्रमले छरछिमेकमा पनि राम्रै चर्चा ओगटेका छन् । कतै जाँदा वा कुनै नयाँ व्यक्ति भेट हुँदा मिथिलाले थालेका यी प्रयत्नबारे सकारात्मक चर्चा सुन्दा अझ बढी यस्तै रचनात्मक र सिर्जनात्मक कार्यक्रम बनाउन उत्प्रेरित भएको नगर प्रमुख हरिनारायण महतोको भनाइ छ ।