उद्धार, राहत र पुनःस्थापनाका काममा परिचालित हुन नेकपाको आह्वान

साउन ६, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको बैठकले सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवाविद्यार्थीमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्धार, राहत र पुनःस्थापनाका काममा परिचालित हुन आह्वान गरेको छ ।

नियमित अन्य कार्यसूचीमा छलफल नभए पनि आजको स्थायी कमिटी बैठकले प्राकृतिक विपत्तिको अवस्थालाई ध्यानमा राख्दै उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीनलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मत गरी आवागमन चालू गर्न बैठकले आग्रह गरेको छ ।

गत असार १० गतेदेखि शुरु स्थायी कमिटीको चौथो बैठकबाट पारित प्रस्तावमा गत जेठ ३० गते मनसुन शुरु भएयता भएको लगातारको वर्षाका कारण देशका विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएको जनाइएको छ । प्राकृतिक विपत्तिका कारण आजसम्म २३३ जनाको ज्यान गएको, ९८ जना बेपत्ता भएको तथा ९९ जना घाइते भएका छन् । दुई सय ८२ भन्दा बढी घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । सयौँ परिवार घरबारविहीन र विस्थापित भएका छन् । तराईका विभिन्न भूभाग डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुल क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।

स्थायी कमिटीको बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । अन्य राजनीतिक कार्यसूचीमा शीर्ष नेताहरुको परामर्श जारी रहेकाले यही साउन १३ गतेसम्मका लागि बैठक स्थगन भएको छ ।रासस