माईखोला बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार

साउन ६, काठमाडौ – गएराति मङ्गलबारे माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फसेका थिए । सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरु आपतमा परेका थिए ।

साँझमा बाढीमा फसेका उनीहरुलाई राति सकुशल उद्धार गरिएको थियो । रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उनीहरुको सफल उद्धार गरिएपछि परिवारमा समेत खुशीयाली छाएको छ ।रासस