अक्सफोर्ड युनिभर्सिटीले बनायो कोरोनाविरुद्धको भ्याक्सिन 

 

साउन ६, काठमाडौ –  कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकसित गर्नमा बेलायतको अक्सफोर्ड युनिभर्सिटीलाई ‘ठूलो सफलता’ मिलेको बताइएकाे छ ।

युनिभर्सिटीले बनाएको भ्याक्सिन मानिसका लागि सुरक्षित भएको पाइएको विशेषज्ञहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो भ्याक्सिन लगाउँदा मानिसमा कोरोना भाइरससँग लड्न सक्ने प्रतिरोधक क्षमता बढेको पाइएको हो ।

कोभिड–१९ को महामारीविरुद्ध संसारभर भ्याक्सिन बनाउने प्रयास भइरहेका बेला अक्सफोर्डको सफलतालाई धेरैले ‘ठूलो र ऐतिहासिक’ मानेका छन् ।

युनिभर्सिटीका अनुसार १ हजार ७७ जना मानिसमा यो भ्याक्सिनको प्रयोग गरिएको थियो ।

परीक्षणका क्रममा जति मानिसलाई भ्याक्सिन दिइएको थियो, ती सबै मानिसको शरीरमा कोरोना भाइरससँग लड्न सक्ने ह्वाइट ब्लड सेल अर्थात् एन्टीबडी विकसित भएको पाइएको छ ।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरू यो परिणामबाट खुसी छन् । बेलायत सरकारले यसअघि नै यो भ्याक्सिनको १०० मिलियन अर्थात् १० करोड डोज अर्डर गरिसकेको छ ।

यो भ्याक्सिनलाई ChAdOx1 nCoV-19 भनिएको छ । निकै तीव्र गतिमा यसलाई तयार गरिएको छ ।