सबै जिल्लाका युवालाई उद्धार र राहतमा जुट्न आग्रह

असार २६, काठमाडौ – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पु¥याएकाले तत्काल उद्धार र राहतमा जुट्न युवालाई आग्रह गरेको छ । दलका अध्यक्ष जीतजङ्ग बस्नेतले आज विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिले भौतिक तथा मानवीय क्षति भएकाले उद्धार र राहतमा जुट्न सबै जिल्लाका युवालाई आह्वान गरेका हुन् ।

“अविरलरुपमा वर्षा भई केही दिनदेखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्कीलगायत देशका विभिन्न ठाउँमा धनजनको क्षति व्यहोरेकाले उक्त विपद्बाट थप क्षति हुन नदिन तरुण दल सामाजिक कार्यमा जुट्नुपर्छ”, उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशका विभिन्न भागमा वर्षा हुने पूर्वानुमान गरिसकेकाले तरुण दलले जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण, उद्धार र राहत वितरणमा जुट्न जिल्ला एवं स्थानीय तहका युवालाई निर्देशन गरेको छ । साथै विपद्का समयमा सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस, सामाजिक सङ्घसंस्था र काँग्रेससँग आवश्यक समन्वय र सहकार्य गर्न विज्ञप्तिमा भनिएको छ ।