फोहोर व्यवस्थापन कर्मचारीलाई सुरक्षा सामग्री वितरण

असार १५, काठमाडौं – स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन र सरसफाइमा कार्यरत श्रमिक कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच (पीपीई) प्रदान गरिएको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड) ले एशिया मोनिटर रिसोर्स सेन्टरको सहयोगमा ललितपुरस्थित किष्ट टिचिङ अस्पताल, पाटन अस्पताल र सर्बाङ अस्पतालका ३२ जना श्रमिक कर्मचारीलाई पीपीई हस्तान्तरण गरेको हो ।

कोभिडको सङ्क्रमणबाट खासगरी स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन र सरसफाइमा कार्यरत कर्मचारी, श्रमिक बढी जोखिममा रहने भएकाले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए ।

अमेरिका, नर्वे, जापान, कोरिया, मलेसिया, फिलिफन्स आदि देशले कोभिड–­ १९ महामारीलाई व्यवसायजन्य रोग वा कार्यस्थलमा लाग्ने रोगको रूपमा पहिचान गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गरिसकेको अवस्थामा नेपालमा पनि खासगरी अग्रपङ्तिका अति आवश्यकीय सेवामा कार्यरत, स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन र सरसफाइ कर्मचारीहरू कोभिडको कारण बिरामी भएका वा बिरामी भई उपचाररत रहेका वा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनपर्नेमा उनले जोड दिए ।

श्रमिकहरूलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी रोजगारदाता कम्पनी तथा निकायहरूको हुने श्रम ऐन २०७४ एवं श्रम नियमावली २०७५ मा व्यवस्था रहे पनि अहिले कोभिडको महामारीको बेला अधिकांश निकायहरूले व्यक्तिगत सुरक्षा कवचको प्रबन्ध गर्न सकेका छैनन् ।

बन्दाबन्दीको सहजतासँगै काममा फर्किदै गर्दा अपनाउनुपर्ने सम्पूर्ण पूर्व सावधानीहरूजस्तै आवश्यक सुरक्षा कवच, स्यानिटाइजर, सामाजिक एवं भौतिक दूरीको कडाइका साथ पालनासँगै कार्यस्थललाई निसङ्क्रमित र सरसफाइ गर्ने र यान्त्रिक उपकरण एवं औजारहरूको पूर्ण परीक्षण गर्न गराउन जरुरी हुन्छ । रासस