यात्रु ओसारपसार नगर्न यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आग्रह

असार ११, काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।

महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफूखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘सार्वजनिक बसमा आफू खुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ,’जारी विज्ञप्तीमा भनिएको छ ।

महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अनुरोध गरेको छ ।

विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको संभावित जोखिमको जिम्मेवारी महासङ्घले नलिने समेत जनाइएको छ ।