उपत्यकाबाट बाहिर जान र आउनका लागि के गर्ने ? यस्तो छ प्रशासनको नियम

 

जेठ ३१, काठमाडौं – लकडाउन खुकुलो भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिन नयाँ व्यवस्था गरेको छ ।

मन्त्रिपरिषदको गत जेठ २८ गतेको निर्णय र गृहमन्त्रालयको जेठ ३० गतेको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यस्तैगरी सरकारी वा संस्थागत कामका लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्रसहित सम्पर्क गर्नुपर्नेछ । बाहिरबाट उपत्यकामा आउन जुन नगरपालिकामा आउने हो सो नगरपालिकाको अनुमति चाहिने भएको छ ।

त्यसरी दिएको अनुमतिसहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । यसरी निवेदन दिएपछि सो जिल्ला प्रशासनले संक्रमण जोखिम विश्लेषण,यात्राको औचित्य पुष्टि हुने कागजातसहित भएमा पास जारी गर्न सहमति प्रदान गर्ने छ ।