सरकारले सार्वजनिक गर्यो खर्च बिबरण – कोरोनामा ८ अर्ब ३९ करोड खर्च

जेठ ३१, काठमाडौं – कोरोना रोकथाम र नियन्त्रणमा १० अर्ब रुपैया खर्च गरेको सरकारले केहि दिन अघि बिबरण सार्वजनिक गर्यो । सरकारले सार्वजनिक गरेको १० अर्ब रुपैयाको खर्च बिबरण सार्वजनिक गर्न सदन देखि सडकसम्म आवाज उठ्यो ।  चर्को आलोचना पछि सरकारले खर्च बिबरण सार्वजनिक  गरेको छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो । १० अर्ब खर्च भएको बताएपनि हालसम्म तीनै तहबाट ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले बिबरण सार्वजनिक गरेको छ ।

संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । ‘अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ ।

त्यस्तै प्रदेशगत खर्च पनि सरकारले सार्वजनिक गरेको छ ।  प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार, बागमती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।

यसैगरी प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ, कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । विवरणअनुसार सबैभन्दा धेरै खर्च सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम खर्च प्रदेश ५ मा भएको देखिन्छ ।
स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।