भारतमा हाल दैनिक दुई लाख कोभिड–१९ नमूना परीक्षण गर्ने क्षमता रहेको आईसीएमआरको भनाइ

जेठ २९, काठमाडौं – भारतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को परीक्षण सेवा हाल दैनिक दुई लाख व्यक्तिलाई दिनसक्ने क्षमता रहेको भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले बिहीबार जानकारी गराएको छ ।

आईसीएमआरका महानिर्देशक प्राध्यापक बलराम भार्गवले भारतमा अझै समुदायमा सङ्क्रमणको महामारी नरहेको पत्रकार सम्मेलनमा दावी गरे ।

उनले भने, “भारतीय समुदायमा कोभिड–१९ को सङ्क्रमण महामारीको अवस्थामा रहेको छैन । भारतमा हालको दैनिक करिब डेढ लाख सङ्क्रमितको परीक्षण हुने गरेको र यसलाई अहिलेको संरचनामा दैनिक दुई लाख विरामीलाई परीक्षण सेवा दिन सकिन्छ । आवश्यकता अनुसार यसलाई बढाउन सकिनेछ ।”

भारतको ग्रामिण क्षेत्रको तुलनामा शहर करिब एक प्रतिशत मात्र रहेको र सङ्क्रमण शहरी क्षेत्रमा जस्तो अवस्थामा गाउँमा नरहेको उनको दावी रहेको छ ।

भारत यति ठूलो मुलुक हो, जहाँ कोरोनाभाइरसको सङ्क्रमण निकै कम (एक प्रतिशतभन्दा कम) जनसङ्ख्या मा रहेको छ । यद्यपि राज्यले परीक्षण, सम्भावित विरामीको खोजीका साथै सङ्क्रमणलाई समुदायमा फैलिन नदिन क्वारेन्टिन र लक्षणका आधारमा विरामीलाई परिवार र समुदायका सदस्यबाट अलग पारी नियन्त्रण प्रयासलाई निरन्तरता दिनुपर्छ ।

भारतमा केही दिन पहिलेसम्ममा नै ५० लाखभन्दा बढी व्यक्तिको सङ्क्रमण परीक्षण भइसकेको महानिर्देशक भार्गवले बताए ।रासस/एएनआई