विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गरः सांसद

जेठ २९, काठमाडौ- राष्ट्रियसभाको विहिवारको बैठकमा वोल्दै सांसदले लकडाउन अवधिमा विद्युत् महसुलमा सरकारले छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भनी गुनासो गरेका छन ।

शून्य समयमा नेपाली कांग्रेसकी तारादेवी भट्टले गत चैत र वैशाखको कूल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नभएकामा आपत्ति जनाइन ।

यस्तै नेपाल टेलिकमले ग्राहकलाई विभिन्न सेवामा छुट दिने भनेर गरिएको निर्णयसमेत कार्यान्वयन नभएकामा उनले रोष प्रकट गरिन ।

सोही दलकी अनिता देवकोटाले यही जेठ १० गते रुकुम –पश्चिम०को चौरजहारी, सोतीमा भएको घटना सेलाउन नपाउँदै सप्तरीमा एक महिलालाई बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको जनाउँदै दोषीमाथि कडा सजायको माग गरिन ।

नेकपाकी उदया शर्मा पौडलले कोभिड–१९ कारण धेरैको रोजीरोटी गुमेकाले ठाउँठाउँमा आत्महत्याका घटना बढेको तथा कतिपय निकाय एवं संस्थाले कर्मचारी निकाला गरेकाले बन्दाबन्दी खुकुलो बनाई जनजीवन सहज बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराइन । सोही दलकी कोमल वलीले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकको करार सम्झौता कार्यान्वयन नभएको भनी चिन्ता व्यक्त गरिन ।