प्रदेश सरकारलाई एम्बुलेन्स र शव वाहन खरिद गर्न निर्देशन

जेठ २४, काठमाडौं – कर्णाली प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला तथा विधायन समितिले कोभिड– १९ का सङ्क्रमित बढ्दै गएकाले पूर्वतयारीका लागि आवश्यक एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको छ । समितिका अध्यक्ष पद्म रोकायाको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले प्रदेश सरकारलाई कम्तीमा १० एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको हो ।

समितिका सदस्य धर्मराज रेग्मीले दैलेखमा सङ्क्रमित बोक्ने एम्बुलेन्स नभएको भन्दै दैलेखलगायतका उच्च जोखिममा रहेका जिल्लाका लागि तत्काल खरिद प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिएको बताए । “पिसिआर परीक्षण ढिला भइरहेको छ, जसले गर्दा मृत्युपछि कोरोना पुष्टि हुने अवस्था निम्तियो”, उनले भने , “प्रदेश सरकारलाई नयाँ पिसिआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउन निर्देशन दिएका छौँ ।” विधायन समितिले प्रदेशमै परीक्षण ढिला भए स्वाब लिएर तत्काल अन्य प्रदेशका प्रयोगशालाबाट परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।

समितिले क्वारेन्टिन, आइसोलेशन व्यवस्थापनमा पनि जोड दिन सुझाव दिएको छ । बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी उपस्थित थिए । प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन परिषद्मार्फत कोभिड– १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक समन्वय गर्दै आएको छ । समितिको बैठकमा परिषद्का काम कारवाहीबारे पनि समीक्षा भएको बताइएको छ । कर्णालीमा हालसम्म ४९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ ।