रंगभेदविरुद्धको आन्दोलनमा थ्री स्टारको समर्थन

जेठ २२, एजेन्सी – रंगभेदविरुद्धको आन्दोलनमा नेपालको ए डिभिजन क्लब थ्री स्टारले एक्यबद्धता जनाएको छ । थ्री स्टारले आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत रंगभेदलाई रातो कार्ड लेख्दै विभेदविरुद्धको विश्वव्यापी आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।

थ्री स्टारले सबै सँगै हुँदा बलियो हुने भन्दै कसैलाई पनि रंग र जातका आधारमा भेदभाव गर्न नहुने उल्लेख गरेको छ ।
अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी कारबाहीको क्रममा मृत्यु भएपछि विश्वब्यापी रुपमा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ । रंगकै आधारमा प्रहरीको दमनबाट फ्लोयडले ज्यान गुमाउनु परेको आन्दोलनमा उभिएका अधिकांशको सर्मथन छ ।

युरोपका स्टार फुटबलरदेखि विभिन्न क्षेत्रमा सामाजिक पहिचान स्थापित गरेको ब्यक्तिहरुले आन्दोलनमा समर्थन गर्दै वर्ण र जातका आधारमा हुने विभेदको विरोध गरेका छन् ।

सोही क्रममा नेपालको लोकप्रिय क्लब थ्री स्टारले विश्वव्यापी आन्दोलनमा आफ्नो समर्थन जनाएको हो । थ्री स्टार क्लबमा पनि अफ्रिकन खेलाडीहरु आबद्ध छन् । घरेलु फुटबलमा समेत बेला बखत रंगभेदको विषय उठ्ने गरेको छ । घरेलु लिग फुटबलमा अधिकांश अफ्रिकन देशका खेलाडीहरु खेल्न आउने गर्छन् ।

वर्णकै आधारमा उनीहरुले खेलाडी र दर्शकबाट विभेद बेहोर्नु परेको घटना बेला बखतमा सार्वजनिक हुने गरेका छन् । यस सिजन मात्र ए डिभिजन लिगमा जावलाखेल युथ क्लबका विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले आफूमाथि रंगभेद गरिएको आरोप लगाएका थिए ।

उनले त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले आफूलाई रंगभेदी टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेका थिए । लिगका दौरान दशरथ रंगशालामा भएको खेलमा समेत भीआईपी प्यारापिटमा बसेका दर्शकले अफ्रिकन खेलाडीमाथि रंगभेदी नारा लगाएका थिए ।