नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्ने अनुमान

जेठ २२, काठमाडौं – नेपालमा एक साताअघि सरकारी स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसबाट ५,००० मानिस सङ्क्रमित हुन सक्ने आकलन गरेका थिए। सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि उनीहरूले पुन समीक्षा गरेर उक्त सङ्ख्या पाँचगुना बढी हुन सक्ने बताएका छन्।
सङ्क्रमण वृद्धि हुने गति यसरी नै चलिरह्यो २५,००० भन्दा बढी मानिसलाई कोभिड–१९ हुन सक्ने देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन्

उनले भनेका छन् ‘पाँच हजार सङ्क्रमित हुने अनुमानमा स्वास्थ्य सामग्री खरिद गर्न खोजिएकोमा अब त्यो परिवर्तन भइसकेको छ,’ उनले भने, ‘एक महिनाभित्रै ५,००० नाघ्ने देखेर मन्त्रालयमा नयाँ रणनीति बनिरहेको छ।’

सरकारले कोभिड(१९ सँग सङ्घर्ष गर्न यसअघि ल्याएको एउटा विपद् व्यवस्थापन योजनामा सङ्क्रमितको सङ्ख्या २,००० नाघ्दा सङ्क्रमणको अवस्था ‘दोस्रो तह’मा पुग्ने र ‘जनस्वास्थ्य सङ्कटकाल’ घोषणा गर्न सकिने उल्लेख छ।

कस्तो वृद्धि?
नेपालमा पहिलो सङ्क्रमित फेला परेको दुई महिनापछि दोस्रो व्यक्तिमा कोभिड(१९ पुष्टि भएको थियो । तर जेठ १५ देखि जेठ २० सम्ममा १,००० सङ्क्रमित फेला परेपछि पाँच दिनमाा कुल सङ्ख्या दोबर भयो। अहिले देशभरि डेढ लाख जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्
सरकारले अहिले सम्भावित वृद्धिको गणितीय आकलन गरिरहेको जनाउँदै विभागका महानिर्देशक श्रेष्ठले त्यसपछि अधिकतम सङ्ख्या स्पष्ट रूपमा प्रक्षेपण गर्न सकिने बताए।

बिबिसीबाट साभार गरिएको