बलिउड गीतकार अनवर सागरको निधन

जेठ २२, एजेन्सी –बलिउडका प्रख्यात गीतकार अनवर सागरको निधन भएको छ । ७० वर्षको उमेरमा उनको बुधवार मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।

उनको के कारणले निधन भएको भन्ने नखुलेको जनाइएको छ । उनको निधनबारे आईपीआरएस (इन्डियन पर्फोमिङ राइट सोसाइटी लिमिटेड) ले ट्विट गर्दै पुष्टि गरेको छ ।

आईपीआरएसले ट्विटरमा छ, ‘अनुभवी गीतकार तथा आईपीआरएसका सदस्यसमेत रहेका अनवर सागरजीको निधन भएको छ । उहाँ वादा रहा सनमजस्ता गीतका कारण परिचित हुनुहुन्छ । उहाँले विजय पथ र यारानाजस्ता सफल चलचित्रका लागि पनि गीत लेख्नुभएको छन् । यो अप्ठ्यारो समयमा हाम्रो प्रार्थना उहाँको परिवारको साथमा छ । उहाँको आत्माले शान्ति पाओस’ ।

८० र ९० दशकमा उनले लेखेका चर्चित गीतहरू आजसम्म पनि उत्तिकै चर्चित छन् । चलचित्र ‘खिलाडी’ को ‘वादा रहा सनम, होंगे जुदा ना हम’ लगायत ‘याराना’, ‘सलामी’, ‘आ गले लग जा’ र ‘विजयपथ’ लगायतका लागी उनले लेखेका गीतहरू निकै लोकप्रिय छन् ।