नेपालले आफ्नो भूमी बारे बोल्दा भारतले अरुको उक्साहट देख्नु हेपाहा प्रवृति हो

प्रसान्त कुमार वि.क.

काठमाडौ – नेपालको मन्त्रिपरिषद्ले लिपुलेक, लिम्पीयाधुरा र कालापानी लगायतको भू–भागहरुलाई समेटेर नयाँ नक्साका जारी गरे सँगै चौतर्फी चरम आलोचना खेपी रहेको ओली सरकार भने देशभित्र फेरि पपुलर भएको छ । सरकारको यो कदमलाई भारतीय मिडियाले नेपालमा चीनको प्रभावका रुपमा व्याख्या गरिरहेको छ । भविष्यमा यस्तो खालको व्याख्या नेपालका लागि प्रतिकूल हुन सक्छ । त्यसो त नेपाल र भारतको सम्बन्ध एक्कासी टुट्न सक्दैन किनभने यो एक्कासी बनेको पनि होईन । यसका थुप्रै अवयवहरु छन् । दुवै देशको सम्बन्धको जरो कति गहिरो छ भन्ने कुरा चीनलाई राम्रो सँग थाहाँ छ । अहिले सम्म नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगरेको चीनले यो मामिलामा पनि आवाज उठाउँछ भन्ने लाग्दैन । किनभने भारत चीनको लागि ठूलो बजार हो । उ त्यसलाई कुनै पनि  हालतमा गुमाउन चाहदैन । बरु, भारतले वि.सं. २००७ साल देखि यता नेपालमा कुनै न कुनै रुपमा ‘माइक्रो म्यानेजमेण्ट’ गर्दै आएको कुरा कसै सामु लुकेको छैन । यसका वावजुद पनि आफ्नो देशको भू–भागलाई नक्सामा समेट्दा भारतका आर्मी चिफ जनरल एमएम नारभानले विना आधार नेपाल कसैबाट सञ्चालित भएको भनेर चीन तर्फ इङिगत गर्नु हाँस्यास्पद छ । तथापी, सीमाका कारणले आपसी सम्बन्धलाई असर पर्ने छैन भन्ने कुरामा दुबै देशका नागरिकहरु आशावादी छन् । यो कुरा दुवै देशका सरकारहरुले पनि बुझन जरुरी छ । अनि, नेपालले आफ्नो पक्षमा बोल्दा भारतले त्यसलाई उसको विरुद्वमा बोलेको ठान्नु हुदैन । तर, केहि भारतीय न्यूज च्यानलहरु एकहोरो नेपाल चीन तर्फ झुकेको कुरा रिपोटिङ गर्दै छन् । त्यसैले यो विषयलाई छिटोभन्दा छिटो द्विपक्षिय वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्दछ । यदि त्यसबाट समस्या समाधान हुन नसकेको खण्डमा अन्तराष्ट्र्रियकरण गर्न आवश्यक छ । अन्तराष्र्टि«यकरण भनेको जुनसुकै फोरमबाट भए पनि सरकारले आफ्ना भनाईहरु राख्दा यस विषयलाई वस्तुगतढंगले उठाउनु हो ।

अलजजिराका अनुसार भारतमा झण्डै चारसयको हाराहारीमा न्यूज च्यानलहरु छन् । केहि समय यता भारतमा राष्ट्रवादी धारका न्यूज एंकरहरुको बोलाबाला छ । खासगरी यस्तो धारको अभ्यास गर्नेमा रिपब्लिक टेलिभिजनका अरनव गोस्वामी हुन । उनका धेरै जसो फलोअरहरु भारतीय जनता पार्टि (विजेपी) का कार्यकर्ताहरु हुन । उनी अहिलेको विजेपी सरकारको खुलेर पक्षपोषण गर्ने, हिन्दुहरुको गुनगान गाउने र राष्ट्रवादी चरित्रका छन् । उनी एग्रेसिभ ढंगले प्रस्तुत हुन्छन र शब्दहरुको गोली बर्साउछन् । तथ्यहरुलाई तोडमोड गरेर पस्किन्छन । अनि भारतीय राजनीतिलाई हिन्दु–मुस्लीम खेमामा ध्रुविकरण गर्दछन् । केहिदिन अगाडी उनले आफैले सञ्चालन गरेको टेलिभिजनको ‘बहस’ कार्यक्रममा नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजाललाई उक्साउने खालको प्रश्न गरेका थिए । उनले चीन कसैको पनि असल मित्र हुन नसक्ने र नेपाल चीनको ‘पपेट’ भएको आरोप लगाएका थिए । रिजालले उनको प्रश्न गर्ने तरिका सहि नभएको भन्दै प्रधानमन्त्रि सँग अन्य कुरामा विमती भए पनि राष्ट्रियताको सवालमा आफू सँगै रहेको कुरा व्यक्त गरे । यो कुरा सामाजिक सञ्जालमा निकै भाइरल भयो । यसबाट थाहा हुन्छ कि गोस्वामी टिआरपी बढाउन र चर्चा बटुल्न कुख्यात छन् । तर यो चर्चाको कुरा मात्र होइन । जी न्यूज टेलिभिजनमा ‘डिएनए’ कार्यक्रम सञ्चालन गर्ने सुधिर चौधरी हुन वा अन्य केही भारतीय पत्रकारहरु मानौ एउटा मिशनमा लागेका छन् । उनीहरुको काम चीन, पाकिस्तानको विरोध गर्नु मात्र होइन, भारतको स्वार्थमा अलिकति पनि असर हुने देखे पछि जो कोहिको पनि कडा शब्दमा विरोध गर्न पछाडि पर्देनन् । त्यो चाहे सबै भन्दा नजिकको मित्र देश नेपाल नै किन नहोस । आखिर किन यस्तो खालको पत्रकारिताको अभ्यास हुँदैछ भन्ने कुरा छुट्टै अनुसन्धानको विषय होला तर यसको ठूलो राजनैतिक अर्थ भने निश्चय नै छ ।

सन् १९६२ मा माओले नेहरुको पञ्चशिलको सिद्वान्तलाई चुनौति दिदै ‘पाठ’ सिकाएको कुरा भारत कहिले विर्सने छैन । त्यसैले होला भारतीय मिडियाले जुनसुकै विषयमा पनि वहस गर्दा चाहे त्यो आर्थिक वृद्विको कुरा नै किन न होस सबै पक्षमा चीन र भारतलाई तुलना गरेर हेर्ने गरेको पाईन्छ । तर अब अहिले अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, बेलायत जस्ता देशहरु चीनको विरुद्व उभिएका छन् । जसको सिधा फाईदा भारत लाई हुँदै छ । किनभने चीनको वुहान शहरबाट शुरु भएको कोरोनाका कारण अहिले विश्वमा आर्थिक माहामन्दी छाएको हो भन्ने एउटा न्यारेटीभ तयार हुँदै छ । यो लेख लेखुन्जेल सम्म साउथ चाइना मोर्निङ पोष्टका अनुसार कोभिड–१९ का कारण हाल विश्वमा तीनलाख बत्तीस हजार भन्दा बढि मानिसहरुको मृत्यु भएको छ भने एक्कउन्न लाख भन्दा बढि मानिसहरु संक्रमित भएका छन् । चीन र अमेरिका बीच भईरहेको व्यापार युद्वको आगोमा यसले घीउ थपेको छ । त्यसैगरी, अमेरीका, भारत लगायत युरोपका अधिंकाश देशहरुको चीन सँग ठूलो व्यापार घाटा रहेको छ । तसर्थ, चीनको बढ्दो शक्तिलाई निस्तेज गर्ने यो उपयूक्त समय भएकोले धेरै देशहरु चीन विरुद्व खनिदै छन् । फलस्वरुप, चीनमा स्थापना गरिएका धेरैजसो बहुराष्ट्रिय कम्पनीहरुलाई दक्षिण एसियामा खासगरी भारतमा सारिने छ । यसले गर्दा चीनको आर्थिक गतिविधिहरुमा भारी गिरावट हुन जाने छ जसले चीनको घरेलु राजनीतिलाई समेत प्रभाव पर्नेछ । तिब्बत, ताइवान, हङकङ, सिन्जीयाङ सँग सम्बन्धित विषयहरुलाई पुनः जोडदार रुपमा उठाइने छ । शीतयुद्वको समय जस्तो विश्व दुई ध्रुवमा बाँडिने छैन । चीनलाई विश्व राजनीतिबाट नै अलग्याइने प्रयास भईरहेको छ ।

त्यसैले नेपालले सीमा सँग सम्बन्धित विषयमा भारत सँग छलफल गर्दा भविष्यमा यस क्षेत्रमा हुन सक्ने थुप्रै राजनीतिक र आर्थिक गतिविधिहरुलाई मध्येनजर गर्दै संयमित ढंगले आफ्ना विचारहरु वार्ताको टेबलमा राख्नु पर्ने देखिन्छ । आज हामीहरु जसरी राष्ट्रियताको सवालमा एकजुट भएका छौ त्यसले एउटा सन्देश दिएको छ, त्यो हो नेपाल भुटान होईन । सबल र परिपक्क नेपाल आजको आवश्यक्ता हो ।

यो लेखकको निजी विचार हो । उनले त्रिभवुन विश्वविद्यालयबाट अन्तराष्ट्र्रिय सम्बन्ध र कूटनीति, अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । [email protected]

3 thoughts on “नेपालले आफ्नो भूमी बारे बोल्दा भारतले अरुको उक्साहट देख्नु हेपाहा प्रवृति हो”

  1. Well said critically analyzed but annoying the media intellectuality of so-called largest democracy 😀😀

Comments are closed.