फोक्सिङ्टारको बेलिब्रिज हटाउन शुरु

जेठ ७,काठमाडौँ- सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाउन शुरु गरिएको छ । खोटाङ र उदयपुर जोड्ने फोक्सिङ्टारमा गत मङ्सिर–२७ गतेदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज मङ्गलबारदेखि निकाल्न शुरु गरिएको हो ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो दूरीको सडक खण्डमा पर्ने फोक्सिङ्टारको अस्थायी बेलिब्रिज निकाल्न थालिएसँगै दिक्तेल–गाईघाट सिधा यातायात सेवा बन्द भएको छ । बेलिब्रिज निकाल्नुअघि गाईघाट दिक्तेल सडक योजनाले प्रशासनलाई पनि जानकारी दिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङ्टारमा विगत पाँच वर्षअघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ । दिक्तेल सडक–गाईघाट सडक खण्डमा पर्ने फोक्सिङ्टारमा बेलिब्रिज हटाइएपछि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायत शहर जाने दोस्रो र छोटो मार्ग कम्तीमा ६ महिनाका लागि बन्द भएको छ ।

फोक्सिङ्टारको बेलिब्रिज निकालेपछि पूर्वी शहर जान–आउन एकमात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता शुरु भएको छ । फोक्सिङ्टारको पक्की पुल निर्माणको काममा ढिलासुस्ती भएको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ ।

फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदै आएको छ । निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको पिल्लरमात्र तयार भएको छ ।

फोक्सिङ्टारको अस्थायी बेलिब्रिज हटाइएसँगै जिल्लामा दैनिक उपभोग्यवस्तु ढुवानी तथा निर्माण सामग्रीको मूल्यमा समेत प्रत्यक्ष असर पर्ने गरेको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटाजस्ता निर्माण सामग्री कटारी–घुर्मी हुँदै ल्याउनुपर्दा ढुवानी मूल्यसमेत वृद्धि हुने व्यापारीको भनाइ छ ।

जेठ–३ गतेदेखि हटाउने भनिएको फोक्सिङ्टारको बेलिब्रिज दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाको अनुरोधमा तीन दिन पछाडि सारिएको गाईघाट–दिक्तेल सडक योजना उदयपुरका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए । सरकारले लागू गरेको बन्दाबन्दीका कारण व्यवसायीले दैनिक उपभोग्य वस्तु एवं निर्माण सामग्री भित्र्याउन नपाएकाले बेलिब्रिज निकाल्ने समय थप गर्न माग गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।रासस