लकडाउनलाई सदुपयोग गर्दै बाँझो जग्गामा खेती

बैशाख ३१, काठमाडौ –  गण्डकी प्रदेशकै प्रसिद्ध मन्दिर बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले लकडाउनको समयलाई सदुपयोग गर्दै बाँझो जग्गामा मकैखेती गरेका छन् ।

बागलुङ नगरपालिका–३ गुठी निवासी खड्काको लामो समयदेखि बाँझो रहेको बागलुङ नगरपालिका–१३ कालाखोला बगर नजिकै रहेको नौ रोपनी जग्गालाई खनजोत गरी मकै लगाएको उनले बताए । “राज्यले समेत बाँझो जग्गा नराख्ने नीति ल्याएको र लकडाउनले फुर्सद भएका कारण बाँझो जग्गामा शुरुमा मकै छरेको छु”, उनले भने, “सो जग्गा व्यावसायिक तरकारी खेतीका लागि उपयुक्त रहेकाले आगमी दिनमा तरकारी खेती गर्ने योजनामा रहेको छु ।”

खड्का मात्र होइन, बागलुङ नगरपालिका–८ सिगाना घर भइ बागलुङ बजारमा कानूनी सेवा प्रदान गर्दै आएका अभिवक्ता रशेम खड्काले पनि लकडाउनको सदुपयोग सुन्ताला बगैँचा व्यवस्थापन गरे । उनी थप सुन्तलाका बिरुवा रोप्ने अभियानमा समेत छन् । सात रोपनी जग्गामा १५० सुन्तलाका बोट रहेका खड्काको सुन्तला बगैँचामा लकडाउनको समयमा बगैँचा व्यवस्थापन र ५० नयाँ बिरुवा थप्न लागेका हुन् । “निकै लामो समयपछि लकडाउनका कारण गाउँको घर फर्केर कृषिमा रमाउने अवसर प्राप्त गरेको छु”, खड्काले भने, “लकडाउनकै कारण सुन्तला गाउँ सिगानामा धेरै सुन्तलाका बिरुवा थपिए, बगैँचा व्यवस्थित भए ।

लकडाउनका कारण बागलुङवासीले दीर्घकालीन तथा आत्मनिर्भर हुनेखालका फलफूल र नगदेबाली लगाउन थालेका हुन् । अहिले कोरोना छल्न गाउँ आएका युवायुवतीसमेत बाँझो जग्गामा केराखेती, टिमुरखेती तथा अनावश्यक रुख बिरुवा हटाइ खेतीपातीलाई उपयुक्त वातावरण मिलाउने अभियानमा जुटेका छन् । लकडाउनका कारण गाउँमा युवायुवती सामाजिककार्यमा समेत लाग्दै आएका हुन् । फुर्सदिला युवायुवती खानेपानी मर्मत, सडक मर्मत, गोरेटोबाटो निर्माण तथा सरसफाइमा समेत लाग्दै आएका हुन् ।

“लकडाउनको समयमा वर्षौँदेखि बाँझो रहेको आफ्नो सात रोपनी बारीमा व्यावसायिक टिमुरखेती शुरु गर्ने योजना बनाएको छु”, बागलुङ नगरपालिका–८ सिगानाका राजन कार्कीले भने, “ बाँझो रहेको बारीलाई करिब १५ दिन लगाएर खेतीयोग्य जग्गा बनाएको छु, अब ती जग्गामा व्यावसायिक रुपमा टिमुरखेती गर्ने योजना छ ।”रासस