कोरोना कोषमा शाक्यद्वारा दश लाख जम्मा

वैशाख २९,काठमाडौँ-व्यवसायी कृष्ण शाक्यले प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा रु दश लाख जम्मा गरेका छन । उनले आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई सो बराबरको चेक हस्तान्तरण गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने बताए । प्रदेश सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म रु १४ करोड जम्मा भएको छ । कोषमा प्रदेश सरकारले रु दश करोड जम्मा गरेको थियो । सो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ । प्रदेश सरकारले चार कोरोना अस्पताल बनाएर कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ ।