सिमानामा अलपत्र परेकालाई स्वदेश ल्याउन माग

बैशाख २७,काठमाडौ- सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले भारतको सिमानामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन वातावरण बनाउनुपर्नेलगायतका विभिन्न माग राख्दै आज मुख्यमन्त्री कार्यालयमा धर्ना दिएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलको नेतृत्वको काँग्रेस प्रदेशसभा सदस्यले अलपत्र नेपालीलाई नेपाल ल्याउनुपर्ने, लिपुलेकमा भारतीय पक्षले एकलौटी तरिकाले सडक बनाउन रोक्नुपर्ने, कोरोनाको परीक्षण राम्रोसँग जाँच गर्नुपर्नेलगायतका माग राख्दै मुख्यमन्त्री कार्यालयको मूल गेटमा दबाब दिन धर्ना दिइएको बताइएको छ ।

सुदूरपश्चिमसँग सीमा जोडिएका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न स्थानमा नेपालीले दुःख पाइरहेकाले उनीहरुलाई नेपालमै ल्याइ क्वारेन्टाइनमा राखेर जाँच गर्न वातावरण मिलाउनुपर्ने काँग्रेस संसदीय दलको माग छ ।