कोरोना भेटिएपछि फेरियो नेपालगञ्जवासीको दिनचर्या

वैशाख २१, काठमाडौ – कोरोना भाइरस सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगञ्जवासीको दिनचर्या फेरिएको छ । शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि मात्र नेपालगञ्जवासी कोरोनाबाट त्रसित हुन पुगेका छन् । विभिन्न बहानामा सडकमा निस्कनेलाई दैनिकजसो प्रहरीले नियन्त्रणमा लिने गरेकामा शनिबार नेपालगञ्जका सडक सुनसान देखिएका थिए ।

नेपालगञ्जमै कोरोनाको बिरामी भेटिएपछि त्रासले नेपालगञ्जवासीको दिनचर्यामा परिवर्तन आएको हुन सक्ने बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए । उनले स्थानीय प्रशासनले बिहान १० बजेदेखि अत्यावश्यकबाहेकका पसल बन्द गराई आवतजावत बन्द गराएकाले बेवास्ता गरी उल्लङ्घन गरेमा कानूनी कारवाही गरिने उल्लेख गरे ।

नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले कोरोना पोजेटिभ देखिएपछि समुदायमा त्रास देखिएको बताए । ‘पहिलेदेखिनै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो’, उनले भने, ‘एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, मान्छे घरबाट बाहिर निस्किन डराइरहेका छन् । ’

उनले त्रास मात्रै गरेर केही नहुने भएकाले थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी मुसलमान समुदायलाई रमजानको सबै कार्यक्रम घरभित्रै गर्न आग्रह गरिएको बताए।रासस