संख्या बढेपछि कृष्णसार संरक्षणमा चुनौती

बैशाख २१, धम्बोझी – दुर्लभ जनावर कृष्णसारको वृद्धिसँंगै संरक्षणमा चुनौती देखिएको छ । नेपालमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं २ खैरापुरस्थित पण्डितपुरमा यसलाई संरक्षण गरिएको छ ।

खुला खेतमा नजीकैको जंगलबाट निस्किएका बाघ, स्याल र भुस्याहा कुकुरले कृष्णसारको बच्चालाई दिनदिनै आक्रमण गर्दा संरक्षणमा चुनौतीसंँगै जनावर संकटमा परेको कृष्णसार संरक्षण केन्द्रका संरक्षण प्रमुख अर्जुन भुसालले राससलाई जानकारी दिएका छन् ।

कृष्णसारले बच्चा जन्माउने यो उपयुक्त समय मानिन्छ । गत वर्ष चैत र यस वर्ष वैशाखमा झण्डै ५० बच्चा जन्मिएका छन् । गत वर्ष २१६ कृष्णसार रहेकामा गत चैत र यही वैशाखमा जन्मिएका ५० बच्चासहित २६६ पुगेका छन् । संरक्षण केन्द्रमा जंगली जनावरको आक्रमणबाट पछिल्लो दुई महिनामा मात्रै १० नयाँ बच्चा मारिएको उनले बताए ।

पण्डितपुरमा रहेको ७०८ बिघा क्षेत्रफलमा फैलिएको क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषित गरिए पनि ऐन कार्यान्वयन र संरक्षण व्यवस्थित हुन नसकेको कर्मचारी बताउँछन् । कृष्णसार संरक्षण क्षेत्रको जग्गामा स्थानीय करीब ५० घरपरिवारले झण्डै तीन सय बिघा जमीन अतिक्रमण गरेका छन् ।

कृष्णसार चरिचरनमा क्षेत्रमा हरियो घाँस र पर्याप्त पिउने पानीको अभाव छ । संरक्षण क्षेत्रमा माउ तथा बच्चा चरनका लागि टाढासम्म जाने गर्नाले जंगली जनावरको आक्रमणमा परी घाइते हुने तथा मर्ने गरेकाले संरक्षणमा चुनौती देखिएको छ ।

कृष्णसारको संरक्षण गर्न राम्रो तारबार र चरिचरन क्षेत्र हरियो बनाउन राम्रो सिँचाइको व्यवस्थान हुनुपर्ने कर्मचारीको सुझाव छ । विसं २०३२ देखि कृष्णसारलाई संरक्षण गर्न थालिएको भए तापनि खासै उल्लेखनीय काम भने हुन नसकेको संरक्षण प्रमुख भुसालले बताए ।