कोरोना प्रभाव –होटल व्यवसायमा मासिक १ अर्ब ८० करोड घाटा

बैशाख २०, काठमाडौं – कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि मुलुक चैत ११ गतेदेखि लकडाउनमा छ । यसले गर्दा देशका उद्योग, कलकारखाना, पर्यटन व्यवसाय, वित्तिय क्षेत्र, व्यापार व्यवसाय तथा होटल व्यवसायसमेत बन्द छन् ।

आर्थिक गतिविधि हुने क्षेत्र ठप्प हुँदा व्यवसायीहरुले उद्योगमा काम गर्ने मजदूरलाई तलब सुविधा दिन सकिरहेका छैनन् । यी व्यवसायीहरुले सरकारसँग यसअघि नै मजदूरलाई श्रेणी अनुसार ५० प्रतिशत मात्र तलब दिन सक्ने जानकारी गराएका थिए ।

तर बैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवस्थामा पनि व्यवसायीक प्रतिष्ठानहरुले पूरा तलब सुविधा दिनु पर्ने निर्णय गरेकाले होटल व्यवसायमा कार्यरत कर्मचारीलाई पूरा तलब दिन नसकिने होटल संघकी अध्यक्ष सिर्जना राणाले बताइन् ।

कोरोनाको महामारीका कारण नेपालको समग्र क्षेत्रमा असर पारेको र अन्य क्षेत्र भन्दा होटल व्यवसायमा लामो समयसम्म असर पर्ने गरि मासिक १ अर्ब ८० करोड रुपैयाँ घाटा भइरहेको अध्यक्ष राणाले जानकारी दिएकी छिन् ।

सरकारले होटल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत प्याकेज दिए मात्र व्यावसायमाथि उठ्न सक्ने उनले बताइन् । कोरोना प्रभावले होटल क्षेत्रमा भएको घाटा लगायतको सम्पूर्ण विवरण पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयमा लिखित रुपमा विशेष राहत ल्याउनको लागि ध्यानाकर्षण गराएको पनि उनले बताइन् ।

‘पर्यटन क्षेत्रमा विशेषगरि नेपाल भ्रमण वर्ष २०२० मनाउन र व्यवस्थित बनाउनका लागि ठूलो लगानी भएको थियो । तर एक्कासी विश्वभरि नै कोरोनाको महामारी फैलिएर लगानीसमेत गुम्न थालेको छ’, उनले भनिन् । उनले अहिले ठूला होटलमा लगानी भएको उल्लेख गर्दै किस्ता तिर्न समेत नसकेको र पुरानो होटलमा कर्मचारीलाई तलब दिन पनि गाह्रो भएको बताइन् ।

उनले भनिन्, ‘लकडाउनपछि श्रमिकहरुलाई एक महिनाको पूरै तलब दिइसकिएको छ, तर अब यतिबेला एक रुपैयाँ पनि आम्दानी भएको छैन । त्यसैले सरकार, कर्मचारी र रोजगारदाता कम्पनी तीन वटै पक्ष मिलेर निकास दिनुपर्छ ।’

होटल व्यवसायमा अहिले ६ महिनाको सर्भिस शुल्क बाँकी रहेकाले कर्मचारीलाई तलब दिन सकिन्छ । तर पूरै तलब दिन सकिंदैन । सरकारले तोकेको न्यूनतम तलबको ५० प्रतिशत मात्र दिन सक्छौं तर मजदूरहरुले शतप्रतिशत नै चाहिन्छ भन्नु भएको छ ।

उनीहरुले पनि यो समयमा कुरा बुझ्नु पर्ने अध्यक्ष राणाको भनाइ छ । संघको मनसाय कर्मचारीलाई तलब नदिने नभएको भन्दै कोरोना भाइरससँग लड्नका लागि कर्मचारीहरुले पनि साथ दिनु पर्ने उनले बताइन् ।