पाकिस्तानका सभामुखलाई कोरोना सङ्क्रमण

बैशाख २०, एजेन्सी – पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उनका छोराछोरीलाई पनि सङ्क्रमण भएको पुष्टि गरिएको हो ।
आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिएका छन् ।

उनले आफू सङ्क्रमित भएको पुष्टि भएकाले आफै क्वारेन्टाइनमा बसेको पनि बताएका छन् । उनले लेखेका छन् , ‛मलाई कोरोना भाइरसको परिक्षण गर्दा सङ्क्रमण भएको नतिजा देखिएको छ, त्यसैले म मेरै घरमा क्वारेन्टाइनमा बसेको छु ।’

पाकिस्तानमा शुक्रबारसम्म देशभरी ११ हजार ७४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । कुल सङ्क्रमितमध्ये चार हजार १०५ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अहिले सङ्क्रमण अवस्थामै रहेकामध्ये १५३ जनाको अवस्था गम्भीर छ भने अहिलेसम्म कुल ३६१ जनाको मृत्यु भएको छ ।