हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा

वैशाख २०, काठमाडौ – नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त पहिरोमा हराएकामध्ये भेटिन बाँकी रहेको एक नेपाली र एक कोरियनको शव शुक्रबार फेला परेको हो । सङ्कलित शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि खटिएको सेनाको टोलीले यी दुईसहित तीन नेपाली पथप्रदर्शक र चार कोरियन पर्यटकको शव फेला पारेको हो । टोलीले हराएकामध्ये दुई नेपाली र तीन कोरियनको शव पहिले नै फेला पारेको थियो ।

नेपाली सेनाको पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनीअन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले शव सङ्कलन गरी ल्याएको उक्त निर्देशनालयले जानकारी दिएको छ ।रासस