आरडिटी पोजेटिभको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

वैशाख १०, काठमाडौ – भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना भाइरस आरडिटीमा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ पाइएको छ । उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फणीन्द्र थापाले जानकारी दिए।

गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनको रिपोर्ट पोजेटिभ देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ती युवकको स्वाब संकलन गरी कोरोना पुष्टिका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ ।