कान काटेको आरोपमा पक्राउ परेका एक व्याक्ति आइसोलेसनमा

वैशाख १०, काठमाडौ- थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गर्न ल्याइएका ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा मङ्गलबार राति कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको आरोपमा पक्राउ परेका आरोपितको स्वास्थ्य परीक्षण र आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।

कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ । आरोपित घाइते सोगवीरका भिनाजु हुन् ।

सप्तरीको चनही मल्हनिया घर भई ससुरालीमा घरज्वाइँ बस्दै आएका आरोपित र उनका साला सोगवीरबीच जमिनको विषयमा विवाद रहेको छ । कदमको रुख काट्ने विषयमा सोमबार विवाद हुँदा धारिलो हतियारले सालाको कान छिनिएको हो । आरोपितले घाँटी ताकेर प्रहार गरेको खुकरी छल्दा कान काटिएको घाइतेले बताए ।

छिनिएको कान लिएर उपचारका लागि घाइते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेको घाइतेका दाजु रघुवीर रामले बताउनुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आरडिटी पोजेटिभ देखिएका उनको स्वाब परीक्षणका लागि आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने बताए ।रासस