मस्जिदको मूल ढोकामा चाबी, घरमै नमाज पढ्दै मुसलमान

बैशाख १०, काठमाडौं – बन्दाबन्दीका कारण मस्जिद बन्द गरिएपछि तनहुँ जिल्लाका मुस्लिमहरुले घरमै नमाज पढ्न थालेका छन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी गरिएपछि यहाँका मुस्लिम समुदायले घरमै नमाज पढ्न थालेका हुन् ।

व्यास नगरपालिका–४ स्थित दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले बन्दाबन्दी भएसँगै मुस्लिम समुदायले घरघरमै नमाज पढ्न थालेको जानकारी दिए । सरकारले बन्दाबन्दी लागू गरेसँगै यहाँ रहेको नुरी हन्फी जामे मस्जिद बन्द छ, मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न भनेका छौँ”, उनले भने, मस्जिदको मूल ढोकामा नै चाबी लगाइएको छ ।”

गत चैत ११ गतेदेखि बन्दाबन्दी भएपछि व्यास नगरपालिकाले पनि मस्जिद, मन्दिर, चर्चलगायत भीडभाड हुने स्थानहरू पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको थियो । सोहीबमोजिम सबैलाई सूचना जारी गरेर मस्जिद बन्द हुने बारे जानकारी गराइएको थियो ।

मस्जिदमा दैनिक पाँच पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०÷२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रबार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे ।

तनहुँको व्यास नगरपालिकाको दमौली, श्याम्घा, भानु नगरपालिकाको सतिस्वाँरा, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारालगायतका ठाउँमा मुस्लिम समुदायको बसोबास रहेको मुस्लिम अगुवा एवं सञ्चारकर्मी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले जानकारी दिए ।