बाजुरका मजदुरले पाए राहत

बैशाख ९, बाजुरा – जिल्ला सदरमुकाम मार्तडी बजारमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकले बल्ल राहत पाएका छन् । मार्तडी बजार क्षेत्रमा दैनिक सामान ओसारपसार गरेर तथा अरुकै कामको भरमा परिवारको गुजारा गर्दै आएका मजदुरले लकडाउनपछि काम नपाउँदा गुजारा टार्न समस्या पर्दै आएको थियो ।

बडिमालिका नगरकार्यपालिकाले उनीहरुको पहिचान गरी २६ जना मजदुरलाई राहत सहयोग गरेको नगर प्रमुख पदम बडुवालले बताउनुभयो । पालिकाले बजार व्यवस्थापन समितिसँग समन्वय गरी राहत सहयोग गरेको हो ।
नगरपालिकाले प्रति व्यक्ति १५ केजी चामल, १ केजी दाल र १ पोका तेल राहत सहयोग गरेको हो । सहयोगले आफूहरुलाई राहत पुग्ने एक मजदुर मनबहादुर कडाराले बताए ।

हिमाली र गौमुलमा पनि राहत

हिमाली गाउँपालिका–७ बाँधुका अति विपन्न ३४ परिवारलाई प्रतिघर ३० केजी चामल, २ केजी नुन वितरण गरिएको छ । सो पालिकाका रोजगार संयोजक बिर्खेराज पाण्डेका अनुसार स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको सहभागितामा राहत वितरण गरिएको हो ।

गौमुल गाउँपालिका–२ वडा कार्यालयले पनि गरिब तथा विपन्नलाई राहत वितरण गरेको छ । प्रति परिवारलाई ३० केजीका दरले ७५ परिवारलाई खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष चक्र बोहराले जानकारी दिए ।
रासस