एसइई परीक्षाका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन

वैशाख ८, काठमाडौ – परीक्षालाई लक्षित गरी दैलेखमा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ । लकडाउनको समयमा एसइई तयारीमा बसेका विद्यार्थीले पढाइलाई पुर्नताजकी होस् भन्नका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लाका धुव्रतारा एफएम र ज्वाला एफएमबाट दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ दैलेख, सेभ द चिल्ड्रेन, एभरेष्ट क्लब दैलेख र स्थानीय तहको समन्वयमा आइतबारदेखि कार्यक्रम शुरु गरिएको हो । दूरशिक्षा रेडियो कार्यक्रम प्रत्येक हप्ताको आइतबार र बुधबार अङ्ग्रेजी, सोमबार र बिहीबार गणित तथा मङ्गलबार र शुक्रबार विज्ञान विषय शिक्षण गरिने शिक्षा एकाइका प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।

जिल्लाका सबै ठाउँमा इन्टरनेटको पहुँच नहुने हुँदा रेडियोबाट कार्यक्रम गरिएको हो । अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सिकाइ उपलब्धि कमजोर भएको कारण एसइई परीक्षाका लागि दूरशिक्षा कार्यक्रम गर्न थालिएको हो, थापाले भने। दूरशिक्षा रेडियो कार्यक्रम बिहान सवा ८ बजेपछि एकै साथ प्रसारण गर्ने व्यवस्था मिलाइएको एभरेष्ट क्लबका कार्यक्रम संयोजक टेकराज आचार्यले बताए ।

यसैगरी गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र सोसेक को सहयात्रा दोस्रो परियोजनाको सहयोगमा लकडाउनको कारण विद्यालय बन्द भएको अवस्थामा प्राथमिक तहका बालबालिकालाई घरमा पढाइलेखाइलाई मद्दत पु¥याउन बाल चौतारी रेडियो कार्यक्रम शुरु भएको छ । बाल सहभागितालाई बढावा दिइने यो कार्यक्रम रेडियो धु्रवतारा सामुदायिक एफएममा हप्ताको सोमबार, बुधबार र शुक्रबार साँझ ६ः३० बजेदेखि ७ बजेसम्म प्रसारण गर्ने व्यवस्था मिलाइएको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बीसीले जानकारी दिए ।

जिल्लामा सञ्चालनमा रहेका यी दुई रेडियो दैलेखलगायत आसपासका जिल्लाहरूमा सुन्न सकिने भएकाले यस कार्यक्रमको प्रभावकारिता अझ धेरै रहेको ज्वाला एफएम रेडियो दैलेखका स्टेशन म्यानेजर पृथ बयलकोटीले बताए।रासस