‘कर्णाली प्रदेशमा कोरोनाको सङ्क्रमण शून्य’

चैत्र ३०, काठमाडौ – कोभिड–१९ का संदिग्धहरुको ‘थ्रोट स्वाब’ नमूना परीक्षण सङ्ख्याको मात्रा बढे पनि कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमित देखिएका छैनन् । हालसम्म भने कर्णालीमा करीब ८०० जनाको स्वाब सङ्कलन गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सुर्खेत प्रदेश अस्पतालमा स्थापित कोरोना परीक्षण प्रयोगशालाबाट आएको प्रतिवेदनले परीक्षणका लागि पठाइएका थ्रोट स्वाबको रिपोर्ट सबै नेगेटिभ देखिएको छ । रिपोर्टअनुसार कर्णाली प्रदेशका नागरिक यतिबेलासम्म सुरक्षित नै रहेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । रासससँग कुरा गर्दै मन्त्री रावलले भने, “यही प्रतिवेदनका आधारमा ढुक्क भइहाल्ने अवस्था छैन । यदि भइहाले त्यससँग कसरी जुध्ने भन्नेमा रणनीति बनाएर सरकार तयारी अवस्थामा रहेको छ ।”

यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई केन्द्रमा राखेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमलाई कोरोना परीक्षण प्रयोगशाला बनाउनतर्फ पहल भइरहेको उनले वताए । स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन तीनवटै स्वास्थ्य संस्थामा प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट सहयोग गरेको उहाँले जनाउनुभयो । उनले भने, “प्रदेश सरकारअन्तर्गतको जनस्वास्थ्य सेवा निर्देशनलाय, प्रदेश अस्पतालसहित १० जिल्लाका स्वास्थ्य सेवा कार्यालयलाई ‘डेडिकेटेड’ अस्पतालका रुपमा विकास गर्न प्रदेश सरकार अघि बढिरहेको छ । त्यसका लागि रु छ करोड बजेट परिचालन गरिएको छ ।” प्रदेश सरकारले यहाँका पाँच हजार जनाको ‘थ्रोट स्वाब’ नमूना परीक्षणका गर्ने उद्देश्यले पाँच हजार किट ल्याइसकेको उनको भनाइ छ ।

उनका अनुसार प्रतिष्ठान, प्रदेश तथा चौरजहारी अस्पताल गरेर झण्डै ‘आइसोलेशन वार्ड’ निर्माण गर्न थालिएको छ । हाल १७ आइसियु कक्ष र आठ वटा भेन्टिलेटर यो प्रदेशमा व्यवस्था गरिएको छ । कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका निम्ति २२ किसिमका औषधि खरीदका लागि प्रदेश सरकार जनस्वास्थ्य सेवा निर्देशनालयले आजै बोलपत्र आह्वान गरेको छ ।

कर्णाली प्रदेश सरकारले यो तीन हप्तामा हेल्थ डेस्कबाट यहाँका एक लाख नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ । कोरोना प्रतिकार्यलाई केन्द्रित गरेर यो प्रदेशभरि बनाइएका ५४ वटा हेल्थ डेस्कबाट एक लाख १७ हजार ६४२ जना नागरिकलाई स्वास्थ्य जाँच सेवा प्रदान गरिएको मन्त्री रावलले बताए । “यो प्रदेशका चार हजार १२ ‘क्वारेन्टाइन’ निर्माण गरिएकामा ७९२ जना क्वारेन्टाइनमा रहेका थिए । त्यसमा चैत १५ गतेदेखि वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा बनाइएको क्वारेन्टाइनमा राखिएका १८३ जना सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, जुम्ला र अछामका नागरिकलाई प्रदेश सरकारले आजै सम्बन्धित जिल्लातर्फ पठाएको छ,” उनले भने ।

कर्णाली प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता जोशी ९भण्डारी०ले प्रदेश सरकारले करीब आठ सयजनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको बताए। अहिलेसम्म ३१६ जनाको रिपोर्ट आएकामा सबै नेगेटिभ देखिएको र केन्द्रबाट अझै ३२९ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताउनुभयो । उनका अनुसार पाँच हजारको ‘थ्रोट स्वाब’ नमूना परीक्षण गर्न नौ जिल्लामा किट पठाइसकिएको र डोल्पामा भने भोलि पठाइनेछ ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले जुम्लाबाट नमूना परीक्षणका लागि पठाएको ३२४ जनाको स्वाब रिपोर्ट आज बेलुकासम्म आइपुग्ने जनाए । जुम्लाबाट हालसम्म नौजनाको ‘थ्रोट स्वाब’ सकङ्लन गरी नमूना परीक्षण गरिएकामा नौजनाकै नेगेटिभ देखिएको उहाँको भनाइ थियो ।

प्रदेश सरकारले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ दल तथा नागरिक तहदेखि सबै क्षेत्रलाई समेटेर लैजाने रणनीतिलाई अघि सारेको छ । कोरोनाको भोलि आउने सम्भावित जोखिमलाई सामना गर्ने गरी स्वास्थ्य क्षेत्रको जनशक्ति परिचालन, सुरक्षा व्यवस्था व्यवस्थापन र वडास्तरमा स्वयंसेवक खटाउने गरी सरकारले तयारी थालेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिए।रासस