स्वास्थ्य सावधानीसँगै सडक र पुल निर्माण अघि बढाइँदै

चैत्र ३०, काठमाडौ – ‘लकडाउन’ जारी रहेसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएर विभिन्न स्थानका सडक आयोजनालाई निरन्तरता दिइने भएको छ । सडक विभागले सरकारले घोषणा गरेको ‘लकडाउन’को केही दिन पछिबाटै रोकिएका बिभिन्न आयोजनाको निर्माण अघि बढाउने भएको हो ।

हालमा लागि झण्डै ६० देखि ६५ पुल आयोजना निर्माण अघि बढाउन लागिएको सडक विभागले जनाएको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा निर्माणाधीन सडकमा सामाजिक दूरी कायम गरी निर्माण अघि बढाउन लागिएको हो ।

काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा सवारी चापले गर्दा कठीन हुने स्थानमा अहिले मर्मत गरिने विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै स्थानमा भीडभाड नहुने र आवश्यक स्वास्थ्य सावधानी अपनाएर निर्माण गर्न सकिन्छ ।”

विभिन्न स्थानमा सडक र पुल निर्माण अघि बढाउन अनुमति माग्न विभागले कोरोना सङ्क्रमण रोकथाम समितिलाई पत्र समेत लेखिसकेको छ । समितिले सम्बन्धित जिल्लाका प्रशासन कार्यालयलाई पत्र लेखेपछि काम गर्ने वातावरण बन्ने महानिर्देशक शर्माले बताए ।
थोरै आयोजनामा अहिले पनि सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको त्यहाँस्थित डिभिजन सडक कार्यालयले जानकारी दिएका छन् । ती स्थानमा एक मिटरको दूरी कायम राखेर माक्स र सेनेटाइजर प्रयोग गरेर मजदुर निर्माणमा खटिएको महानिर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै साइटमा स्वास्थ्यकर्मीसमेत राखेर काम भइरहेको जानकारी आएको छ ।”

आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’को अवधि थप गर्दा भौतिक पूर्वाधारको भने अलपत्र केही योजना सम्पन्न गराउन निर्माण अघि बढाउन लागिएको हो । त्रिभुवन राजमार्ग र कोशी राजमार्गमा सडक निर्माण अघि बढाइने भएको छ । त्यससँगै, झापा, सङ्खुवासभा, कैलाली, मकवानपुर, मुगु, जुम्लालगायत जिल्लामा पनि निर्माण शुरु हुने उहाँले जानकारी दिए । उनले भने, “निर्माण त्यसै छाड्दा नोक्सान हुने स्थानलाई छनोट गरिएर काम अघि बढाउन लागिएको हो ।”

देशभरमा हाल सङ्घीय सरकारले निर्माण गरिरहेकै एक कहजारभन्दा बढी पुल भएपनि त्यसमा अहिले ६०÷६५ पुल मात्रै छनोट गरिएको छ । तीमध्ये अधिकांशमा थोरै मात्रै काम बाँकी छ । ती योजनामा दुईचार दिन काम हुँदा सम्पन्न हुने महानिर्देशक शर्माले बताउनुभयो । त्यस्तै, निर्माण व्यवसायीले पनि ती योजनामा काम गर्न सकिने बताएका छन् । उहाँले भन्नुभयो, “समितिबाट अनुमति आएपछि नै काम अघि बढाइनेछ ।”

‘लकडाउन’ घोषणा पहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मर्मत भइरहेको थियो । त्यस्तो मर्मतका लागि कम जनशक्ति भए पुग्ने हुँदा अहिले पनि निरन्तरता दिन सकिने महानिर्देशक शर्माले बताउनुभयो । एउटा गाडि र एक जना चालक र थोरै सङ्ख्यामा अरु कामदार भएपछि मर्मत कार्य गर्न सकिने उहाँले जानकारी दिनुभयो । उपत्यका बाहिरिने मुख्य नाका नौबिसेमा काठमाडौँ जिल्लापट्टिको काम सम्पन्न भइसकेको छ । खानेपाइपका कारण निर्माणमा कठीनाई आइरहेको गौशाला–चावहिल सडकसमेतमा निर्माण ‘लकडाउन’का कारण ठप्प छ । यी सडकमा चाँडै निर्माण अघि बढाउन सकिने महानिर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “सवारी चाप नभएको समयमा निर्माण गर्न सहज पनि छ ।”

नेपाल निर्माण व्यवसायी महासङ्घले गत साता नै प्रेस विज्ञप्तीमार्फत सरकारलाई निर्माण अघि बढाउन वातावरण बनाउन अनुरोध गरेको थियो । महासङ्घका महासचिव रोशन दाहालले कुनै स्थानमा फर्मा ठोकेको त कतै खाल्डा खनेको गरी निर्माण अलपत्र अवस्थामा रहेको बताउनुभयो । वर्षा शुरु हुनु पहिले ती काम सम्पन्न नगर्दा त्यो क्षति हुने उहाँले बताउनुभयो । महासङ्घले वर्षामा क्षति पुग्ने पुल र नदी नियन्त्रणका काम अघि बढाउन सहजीकरण गर्न सरकारलाई अनुरोध गरेको हो । अधिकांश आयोजना मजदुर निर्माणस्थल मै रहेकाले काम गर्न सकिने उहाँले बताउनुभयो । निर्माणस्थलमा रहेका मजदुरलाई निर्माण व्यवसायीले खाने बस्ने प्रवन्ध गरिरहेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, “काम गर्न एक दुई जना प्राविधिक जनशक्ति चाहिएपनि ठूलो सङ्ख्यामा मजदुर निर्माणस्थलमै छन् ।”