तिलगङ्गा आँखा अस्पतालमा दैनिक ५० देखि एक सय बिरामी

– सञ्चिता घिमिरे

वैशाख १, काठमाडौ – तिलगङ्गा आँखा अस्पतालको बहिरङ्ग विभाग र आकस्मिक कक्षमा गरी दैनिक ५० देखि १०० जनासम्म बिरामी आउने गरेका छन् ।

‘लकडाउन’ का समय भएकाले शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात् कुनै समस्या आइपरेका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार बिरामी आउने गरेकामा अहिले झण्डै १०० जनासम्म आइरहेको अस्पतालले जनाएको छ । ती बिरामीमध्ये शल्यक्रिया गरेर ‘फलोअप’ आउने र आकस्मिक सेवा लिन आउने दुवै बराबर सङ्ख्यामा छन् । अस्पतालले सबै सेवा नियमित गरे पनि अत्यावश्यक बिरामीलाई मात्रै अस्पताल आउन भनिरहेको अस्पतालका निर्देशक डा रोहित सैँजुले बताउए । उनले भने, “अहिले यातायातको पनि असहज भएकाले सामान्य जाँच गर्ने बिरामी त्यसपछि पनि आउन सक्नुहुन्छ ।”

‘लकडाउन’ पहिले दैनिक धेरै शल्यक्रिया हुने गरेकामा अहिले सातामा औसत सात÷आठ वटासम्म शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले आँखाका नियमित बिरामीलाई यहाँ कार्यरत चिकित्सकको टेलिफोन नम्बर उपलब्ध गराएको छ । बिरामीले आवश्यक पर्दा ती नम्बरमा चिकित्सकसँग सम्पर्क गरी आफ्नो समस्या राख्ने गरेका छन् । चिकित्सकले अति आवश्यक हुँदा अस्पतालमा बोलाउने तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग गर्न भन्ने गरेको उनले बताए । उनले भने, “उनीहरुलाई फोनमा नै अस्पताल आउने कि त्यहीँ औषधि किनेर प्रयोग गर्ने भन्ने सल्लाह दिइन्छ ।”

अस्पतालले नयाँ बिरामीको समस्या सुनेर अस्पताल आउन पर्ने वा नपर्ने सल्लाह दिने गरेको छ भने पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्याका बारेमा बुझ्ने गरेको छ । बिरामीको ‘हिस्ट्री’ हेर्दा उसको समस्या जटिल भएमा मात्रै अस्पताल बोलाउने गरिएको निर्देशक डा सैँजुले बताए । उनले भने, “बिरामीलाई नै आउन सजिलो नभएकाले अति आवश्यक नभई नआउन भनिएको हो ।”

अस्पतालले बिरामी गेटबाट प्रवेश गर्नासाथ सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । बिरामीको विवरण सोध्दा शङ्का लागेका व्यक्तिलाई उसको तापक्रम हेर्ने र मास्क नलगाएको व्यक्तिलाई मास्क लगाएर र सेनिटाइजरले हात सफा गरेर मात्रै प्रवेश गराइन्छ । यदि कुनै व्यक्तिमा कोभिड–१९ को शङ्का लागेमा उसलाई नजिकैको कोभिड क्लिनिक पठाउने व्यवस्था मिलाइएको छ ।

अस्पतालले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल वा सिनामङ्गलस्थित काठमाडौँ मोडल अस्पतालमा पठाउने व्यवस्था मिलाएको छ । त्यस्तै, अस्पतालको क्षेत्रफल ठूलो भएकाले भित्र सामाजिक दूरी कायम गराउन पनि कठीन नभएको उनले बताए । उनले भने, “पहिले दैनिक एक हजारभन्दा बढी बिरामी जाँच गरिरहेको ठाउँ भएकाले दैनिक १०० जनालाई सामाजिक दूरी कायम गर्न गाह्रो छैन ।”

अस्पतालमा बिरामीको चाप कम भएकाले आवश्यक सङ्ख्यामा मात्रै कर्मचारी आउने गरेका छन् । चिकित्सक, अरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ गर्ने व्यक्तिसमेत गरि दैनिक ५० देखि १०० जनासम्म कर्मचारी अस्पतालमा आइरहेको निर्देशक डा सैँजुले बताए । अरु कर्मचारीसमेत आवश्यक पर्नासाथ सेवामा आउनका लागि तयारी अवस्थामा रहेको उनले बताए ।

अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री पनि पर्याप्त नभएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट ९पिपिई० अहिले झण्डै १० थान मात्रै रहेको छ । सङ्क्रमितको सङ्ख्या बढेपछि थप सामग्री आवश्यक पर्नै भएकाले थप सामग्री माग गरिएको हो । स्वास्थ्य मन्त्रालयसँग थप सामग्री माग गरिए पनि अहिलेसम्म नपाएको उहाँको गुनासो छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले मास्क, पञ्जा, गाउन पनि प्रयोग गरिरहेका छन् । मास्क र पञ्जा प्रयोग गरेपछि फाल्ने भए पनि गाउन दैनिक धोएर पटक पटक प्रयोग भइरहेको छ । रासस