भरतपुर अस्पतालमा प्रसूति सेवामा कुनै समस्या छैन

चैत्र २७, काठमाडौ – भरतपुर अस्पतालमा प्रसुति सेवा निःशुल्क रहेको छ । तर त्यही सेवाका लागि निजी अस्पतालमा चर्को शुल्क असुल्ने गरिन्छ ।

अहिले भरतपुर अस्पतालमा कोभिड–१९ को जोखिमको त्रास देखाएर निजी अस्पतालले बिरामी लाने गरेका बताइएको छ । भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोखरेल अस्पतालको प्रसूति विभाग छुट्टै भवनमा भएकाले पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिए ।

लकडाउनका कारणले सुत्केरी गराउन अस्पताल आउनेको सङ्ख्या केही कमी भएको र अस्पतालको जस्तो सुविधा अन्यत्र नरहेको बताए ।
अस्पतालको प्रसूति रोग विभागमा १४ विशेषज्ञ चिकित्सक तथा ८० नर्स तथा स्वास्थ्यकर्मी रहेका छन् । डा पोखरेलले भन्नुभयो, “ हाम्रो सेवा उत्कृष्ठ छ । अन्यत्र दाँज्नै मिल्दैन । कोरोनाको डर मान्नुपर्ने अवस्था रहेको छैन । ”

सबै अस्पतालमा छुट्टै फिवर क्लिनिक र आइसोलेशन श्यया रहेको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गतवर्ष १३ हजार ५०० र यसवर्ष चैत महिनासम्म नौ हजार ७२८ एक हजार ११ ले प्रसूति सेवा लिएका थिए ।

अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बस्यौलाका अनुसार यहाँ १२ श्ययाको सघन उपचार कक्ष, ६ जना क्षमताको कंगारु मदर केयर, १५ श्ययाको नवजात शिशु वार्ड र १० जना क्षमताको पोषण एकाइ छ । बालरोग विभागमा १० जना विशेषज्ञ चिकित्सक र चार जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । सघन उपचार कक्षमा दैनिक रु एक हजार लिइन्छ भने अन्य सबै सेवा निशुल्क छ । सघन उपचार कक्षमा निजीमा एकै दिनको रु १० हजार खर्च हुने गर्दछ ।

काठमाडौको परोपकार प्रसूति गृहपछि भरतपुर अस्पतालमा धेरै प्रसूति गराउने गरेको तथ्याङ्क छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी प्रसूति सेवा प्रदान गर्न कुनै समस्या नभएको बताए।

भरतपुर अस्पताल गतवर्ष केन्द्रीय अस्पताल बनेको हो । सो अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ । अस्पतालमा ६०० श्यया छन् । रासस