एक तिहाइ महिलालाई क्रियाशील सदस्यता दिन माग

फागुन २०, काठमाडौं नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले न्यूनतम एक तिहाइ महिलाई पार्टीको क्रियाशील सदस्यता वितरण गर्नुपर्ने माग गरेको छ ।

सङ्घले पार्टी सभापति शेरबहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझाउँदै हालसम्म तीन प्रतिशत महिलाले मात्र पार्टीको सो सदस्यता पाउन सकेको जानकारी गराउँदै सो माग गरेको हो ।

पार्टीको विधानमा आगामी १४औँ महाधिवेशनबाट लागू हुने गरी वडा समितिदेखि केन्द्रीय समितिसम्म एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

गाउँगाउँमा सङ्गठन गर्न दुःख गरेका तथा पार्टीका हरेक कार्यक्रममा सक्रिय रुपमा भूमिका निर्वाह गरेका महिला अझै पनि पार्टीको क्रियाशील सदस्यता पाउनबाट वञ्चित रहेको सङ्घका अध्यक्ष उमा रेग्मीले बताइन् ।

सो पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि फागुन १६ गतेदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ ।

पार्टीको विधानले तोकेको कार्य्विधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको पार्टीले जनाएको छ ।

सङ्गठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश (काँग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको पार्टी कार्यालयले जनाएको छ ।