१९ जना सांसदहरुको आज पदावधि सकिँदै

फागुन २०, काठमाडौं राष्ट्रियसभाका १९ जना सांसदहरुको आज पदावधि सकिँदैछ । २ वर्षे कार्यकाल पाएका वर्तमान सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा लगायत १९ जनाको पदावधि आजबाट सकिन लागेको हो।

०७४ माघ ९ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदा गोलाप्रथाबाट २ वर्षे कार्यकाल पाएका १९ जना सांसद आजदेखि विदा हुन लागेका हुन् ।

विदा हुन लागेका राष्ट्रियसभा सदस्यहरु मध्ये सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, सरिता प्रसाईं, बिन्दादेवी आले, बद्रीप्रसाद पाण्डे, वृषेशचन्द्रलाल, बलरामप्रसाद बाँस्कोटा रहेका छन् ।

यस्तै युटोल तामाङ, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, दुर्गाप्रसाद उपाध्याय, रमेशप्रसाद यादव, राजकुमार यादव, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली पनि आजदेखि बिदा हुन लागेका हुन् ।

उनीहरुका ठाउँमा १८ पदका लागि गएको माघ ९ गते निर्वाचन भइ नयाँ सदस्यहरु निर्वा्चित भइसकेका छन् । राष्ट्रपतिबाट मनोनित हुनु पर्ने एकजनाको भने निर्णय हुन बाँकी छ । हाल सो स्थानमा डा युवराज खतिवडा रहेका छन् ।

नेपालको संविधान अनुसार राष्ट्रियसभामा ५६ जना निर्वा्चित र ३ जना राष्ट्रपतिबाट मनोनित हुने प्रावधान छ । उनीहरुको कार्यकाल ६ वर्षको हुने र एक तिहाइ सदस्यको कार्यकाल २ वर्षमा सकिन्छ ।