आवश्यकता अनुसार ड्रोन बनाउँछौं

फागुन, १६ काठमाडौं ।

नेपालमा ड्रोन उपयोगको सम्भावना कस्तो छ ?
नेपालमा दुई तरिकाबाट ड्रोन आइरहेको छ, विदेशबाट आयात गरेर र आफैंले निर्माण गरेर । आविष्कार केन्द्रले नेपाली जनशक्ति प्रयोग गरेर ड्रोन विकास गरिरहेको छ, जसलाई औषधि वितरण गर्नेदेखि लिएर कृषिका साथै जीवनोपयोगी काममा प्रयोग गर्ने हाम्रो उद्देश्य हो । त्यसका लागि एक किसिमको ड्रोनमात्रै बनाएर पुग्दैन । भौगोलिक स्थिति र आवश्यकताअनुसार बनाउनुपर्छ ।

कस्ता ड्रोन बनिरहेका छन् ?
हामी तीन किसिमको ड्रोन बनाइरहेका छौं । पहिलो, मल्टिरोटर अर्थात् धेरै पंखा भएको ड्रोन । यो छोटो दूरी र समथर क्षेत्रका लागि हो । फिक्स विङ ड्रोन २०–२५ किलोमिटरसम्म जान्छ । जुन ब्याट्रीबाट चल्छ । त्योभन्दा लामो दूरीमा पठाउने हो भने पेट्रोलबाट चल्ने इन्जिन प्रयोग गर्नुपर्ने हुन्छ । अर्कोचाहिँ भर्टिकल ल्यान्डिङ गर्न र उड्न सक्ने ड्रोन । यसका लािग झन्डै ६० लाख खर्च भइसकेको छ । समय लागोस्, खर्च लागोस् तर नेपालमा नै उत्पादन गरेर यसलाई प्रयोगमा ल्याउने हाम्रो सोच छ । यसो गर्दा सस्तो त पर्छ नै, बिग्रियो भने यसलाई मर्मत गर्न सजिलो हुन्छ ।

मेडिकल क्षेत्रमा प्रयोग हुने ड्रोनको परीक्षण कस्तो रह्यो ?
मल्टिरोटरचाहिँ सफल भयो । तर, शतप्रतिशत भएको छैन । फिक्स विङ र भिटोल ड्रोन परीक्षण हुँदैछ ।

कहिलेबाट यसको उपयोग होला ?
गएको दसैंमा नै गर्ने भनेको हो । प्राविधिक कारणले ढिला भयो । अनुसन्धान गर्दा समय लाग्छ ।

चुनौतीहरू के छन् ?
यसमा आर्थिकभन्दा पनि प्राविधिक पाटोमा चुनौतीहरू धेरै छन् । ड्रोन विकासमा लागिरहेकाहरू इलेक्ट्रोनिक इन्जिनियरिङ र मेकानिकल पृष्ठभूमिका छन् । एरोनटिकल पृष्ठभूमि नभएकाले पढ्दै, सिक्दै, बनाउँदै र परीक्षण गर्दै छन् । त्यसैले अहिले सिकाइको अवस्थामा नै काम भइरहेको हो । कतिपय सामान विदेशबाट ल्याउनुपर्ने अवस्था छ । त्यसमा आर्थिक चुनौती पनि छ नै । सरकारको सहयोग केही छैन । ड्रोनप्रति बुझाइ नै स्पष्ट छैन । तर, यसले नागरिकको हित गर्छ भन्ने बुझाउन सकिए सरकारले सहयोग नगरी सुख पनि छैन ।

  • महावीर पुन, वैज्ञानिक, राष्ट्रिय आविष्कार केन्द्र