बिहे

 

दिनेश अधिकारी

फागुन, १ काठमाडौं ।
बिहे गरेको भोलि पल्ट
हामी एउटा पैदल यात्रामा थियौँ

कहाँ के भयो ?
एकाएक आकाश धुम्मियो
एकाएक मेघ गर्जियो
र, झमझम पानी पर्न सुरु भयो
ओत लाग्न
छेउछाउमा कुनै उपाय थिएन
र, हामीसँग एउटै मात्र सानो छाता थियो
ऊ नभिजोस् भनेर
घरी–घरी मैले ऊतिर छाता ढल्काइरहेँ
मायाले, उसले पनि मैतिर छाता ढल्काइरही
पानी थामिएपछि
पालैपालो
एक पटक मैले उसलाई हेरेँ
एक पटक उसले पनि मतिर आँखा ओछ्याई
यतिञ्जेलसम्म–
न मै नभिजेको थिएँ
न ऊ ओभानो बचेकी थिई
सट्टामा–
हामी दुवै पानीले निथु्रुक्क रुझेका थियौँ

बिहे गरेको भोलि पल्ट
हामी एउटा पैदल यात्रामा थियौंँ