कोरोना भाइरसले लियो एकैदिनमा २४२ जनाको ज्यान

फागुन, १ काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९) ले चीनमा एकैदिन २४२ जनाको मृत्यु भएको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मर्नेको संख्या बुधबारमात्रै २४२ थियो भने कोरोना संक्रमित एकैदिनमा १४ हजार ८४० जना रहेको छ ।

पिपुल्स डेली चाइनाका अनुसार कोरोनाको इपिसेन्टर मानिएको हुबेई प्रान्तमा मात्रै बुधबार २४२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४८ हजार २०६ जना कोरोना भाइरसबाट संक्रमित छन् भने मर्नेको संख्या एकहजार ३१० जना पुगेको छ ।

अहिले पनि ३३ हजार ६९३ जना अस्पतालमा उपचाररत छन् । ३ हजार ४४१ जनालाई भने ठीक भएको छ । उता बेलायतले पनि आफ्नो देशमा कोरोना भाइरसका बिरामी पुष्टि भएको बुधबार नै जनाएको छ ।

बुधबार चीनमा एक्कासी यो भाइरसको संक्रमण अन्य दिनमा भन्दा बढी देखिएको थियो । चीनभन्दा बाहिर पनि कम्तिमा ४४१ जना कोरोना भाइरसका बिरामी देखिएको बीबीसीले जनाएको छ ।